जबरजस्ती करणीका आरोपित भारत भाग्दै गर्दा गड्डाचौकीबाट पक्राउ

  मङ्गलबार १३, जेठ २०८२ ०८:४६

कञ्चनपुर । डोटीमा १४ वर्षीया किशोरीमाथि जबरजस्ती करणीका आरोपितलाई भारततर्फ भाग्दै गरेको अवस्थामा सोमबार पक्राउ गरिएको छ । दिपायल सिलगढी नगरपालिका-८ का ६१ वर्षीय गंगाराम कोलीलाई गड्डाचौकी नाकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहोराका अनुसार पक्राउ गरिएका कोलीलाई डोटी पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता डिएसपी दीपेन्द्र पालका अनुसार फागुन १४ गते दिपायल सिलगढी(८ नारिदाङस्थित शिवरात्रि मेलामा गएकी १४ वर्षीय किशोरीमाथि कोलीले जबरजस्ती करणी गरेको भन्दै जेठ ११ मा प्रहरीमा जाहेरी परेको हो । जाहेरीकै आधारमा प्रहरीले आरोपितको खोजी सुरु गरेको हो ।

मेलाबाट फर्किने क्रममा पिपल चौतारामा बसेका बेला नजिकैको पुरानो पानीघट्टमा लगेर कोलीले जबरजस्ती करणी गरेको र कसैसँग भनेमा ज्यान मार्ने धम्की दिएको पीडित किशोरीले प्रहरीसमक्ष बयान दिएकी छिन् । पीडितको विस्तृत स्वास्थ्य परीक्षण भइसकेको प्रहरीले जनाएको छ ।

‘निरन्तर फलो गरेर आरोपितलाई समात्न सफल भएका हौं,’ डीएसपी पालले भने । पीडित किशोरी गर्भवती रहेको प्रहरीले जनाएको छ ।

clock मङ्गलबार १३, जेठ २०८२ ०८:४६

प्रतिक्रिया