कार्यालय प्रमुखमाथि कुटपिटपछि कैलाली भन्सारमा कामकाज ठप्प

  आइतबार ११, जेठ २०८२ १४:३२

धनगढी । प्रमुख भन्सार अधिकृत अनन्तप्रसाद तिम्सिनामाथि कुटपिट भएपछि कैलाली भन्सार कार्यालयका कर्मचारी र एजेन्ट आन्दोलनमा उत्रिएका छन् ।

शनिबार राति भन्सार कार्यालयको परिसरमै प्रमुख भन्सार अधिकृत तिम्सिनामाथि धनगढी उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख लक्ष्मणसिंह धामीको टोलीले कुटपिट गरेको भन्दै भन्सार कार्यालयको सेवा ठप्प पार्दै कर्मचारी र एजेन्ट महासंघ आन्दोलनमा उत्रिएको हो ।

कुटपिटमा सङ्लग्न नगर प्रहरी प्रमुख धामीसहितलाई कारबाही र सुरक्षाको माग गर्दै सेवा ठप्प पारिएकी बताइएको हो । भन्सार कार्यालय बन्द भएपछि आयात र निर्यात रोकिएको छ ।

एजेन्ट महासंघ कैलालीले विज्ञप्ति जारी गर्दै घटनाको भत्सर्ना गरेको छ । उसले घटनाको निष्पक्ष छानबिनको माग गर्दै कर्मचारीको सुरक्षाको ग्यारेन्टी गर्न कैलाली प्रशासनलाई आग्रह गरेको छ ।

के हो घटना ? 
धनगढी–अत्तरिया छ लेन सडकको ट्री गार्डेनमा लगाइएको जाली स्कारपियोले भत्काएको सूचनापछि बिहीबार राति १० बजे नगर प्रहरी प्रमुख धामीको टोली उक्त गाडीको खोजीका लागि भन्सारको बेरियलसम्म पुगेको थियो । सो क्रममा भन्सार प्रमुख तिम्सिना र नगर प्रहरी प्रमुख धामीबीच विवाद भएको थियो ।

विवादपछि भन्सार कार्यालयभित्रै प्रवेश गरेर प्रमुख भन्सार अधिकृत तिम्सिनामाथि कुटपिट भएको आरोप लागेको हो । 
नगर प्रहरी निरीक्षक धामीले भने आफूहरुले भन्सार प्रमुखमाथि कुटपिट नगरेको र सामान्य धरपकड मात्रै भएको बताए । ‘ सडकको जाली भत्काउने गाडीको खोजीमा हामी भन्सारको बेरियलसम्म पुगेका थियौं,’ नगर प्रहरी प्रमुख धामीले भने, ‘त्यहाँ भन्सार प्रमुख मापसे गरेको अवस्थामा भेटिनुभएको थियो । तर, उहाँले हाम्रो गाडी थुन्ने धम्की दिँदै गाडीमा हान्न थालेपछि त्यस्तो नगर्न आग्रह गरेका थियौं ।’

सडकमा विवाद भएपछि भन्सार प्रमुख तिम्सिना भन्सार कार्यालयभित्र पसेका थिए । ‘हामीले उहाँर्लाइ चिनेका पनि थिएनौं,’ नगर प्रहरी प्रमुख धामीले भने, ‘भन्सार कार्यालयभित्र अनाधिकृत व्यक्ति पसेको आशंकामा हामी पनि उहाँकै पछाडि गएका थियौं । सो क्रममा सामान्य धरपकड भएको हो । केही समयपछि पुगेको प्रहरीले उहाँ नै भन्सार प्रमुख हो भनेर परिचय गराएपछि हामी फर्किएका हौं ।’

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक९एसपी० बाल नरसिंह राणाले भन्सार प्रमुख र नगर प्रहरीबीच विवाद भएको खबरपछि राति प्रहरी पठाएको जानकारी दिए । ‘हाम्रो टोली त्यहाँ पुग्दा विवाद साम्य भइसकेको थियो,’ उनले भने, ‘अहिलेसम्म कुनै पक्षबाट पनि निवेदन आएकौ छैन ।’

clock आइतबार ११, जेठ २०८२ १४:३२

प्रतिक्रिया