धनगढीका नगर प्रहरी इन्सपेक्टरले गरे कैलाली भन्सारका प्रमुखमाथि कुटपिट

  आइतबार ११, जेठ २०८२ १४:०३

धनगढी । धनगढी उपमहानगरपालिकाका नगर प्रहरीका प्रमुख नगर प्रहरी निरीक्षक (इन्सपेक्टर) लक्ष्मण सिंह धामीको टोलीले कैलाली भन्सारका प्रमुखमाथि कुटपिट गरेको छ । गएराति भन्सार कार्यालयभित्रै प्रवेश गरेर प्रमुख भन्सार अधिकृत अनन्त तिमिल्सिनामाथि नगर प्रहरी प्रमुख धामीसहितका नगर प्रहरीले कुटपिट गरेको आरोप लागेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह राणाले भन्सार प्रमुख र नगर प्रहरीबीच वादविवाद भएको खबरपछि राति प्रहरीको टोली पठाइएको जानकारी दिए । जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली त्यहाँ पुग्दासम्म स्थिती समान्य भइसकेको बताउँदै घटनाबारे थप कुरा बुझ्ने काम भइरहेको बताए ।

तर नगर प्रहरी निरीक्षक धामीसहितका नगर प्रहरीले तिमिल्सिनालाई भन्सार कार्यालयभित्रै प्रवेश गरेर कुटपिट गरेको दाबी गरिएको छ । धामीले भने तिमिल्सिनामाथि कुटपिट नगरेको तर मदिराले लठ्ठ अवस्थामा रहेका उनले आफूहरुमाथि दुव्र्यवहार गरेको उनको दाबी छ ।

‘हामीले उहाँमाथि कुटपिट गरेका छैनौँ । बीच सडकमा हाम्रो भ्यानमा हानेर तपाईहरुलाई थुनिदिन्छौँ भनेर म माथि हातपात गरेर धकेलेपछि मैले उता धकेलेको थिए । त्यो बेला मेरो मोबाइल भुँइमा खस्यो,’ धामीले भने, ‘अत्यधिक मापसे गरेको अवस्थामा म भन्सारको चिफ हुँ भन्दै सडकमा तमासा देखाइरहनुभएको थियो ।’

धामीले उनी भन्सार प्रमुख भएको कुरा थाहा नभएका कारण भन्सार कार्यालयभित्र अनाधिकृत व्यक्ति प्रवेश गरेको पो हो की ? भनेर आफूहरु त्यहाँभित्र गएको तर हातपात र कुटपिट नगरेको दाबी गरे । ‘म भन्सारको चिफ हुँ भनेर तमासा देखाइरहनुभएको थियो । त्यहाँ भएका कसैले पनि उहाँ चिफ हो भनेर भन्नुुभएन । उहाँ भन्सार कार्यालयभित्र प्रवेश गरेपछि हामी पनि गएका थियौँ,’ धामीले भने, ‘तर पछि प्रहरीले हाकिम साप हो भनेर यकिन गरेपछि हामी फर्किएको हो । हातपात र कुटपिट गरेका छैनौँ ।’

तीव्र गतिको स्कारपियोले ६ लेन सडकको ट्री गार्डेनमा लगाइएका जाली भत्काएपछि खोजीमा नगर प्रहरीको टोली राती कैलाली भन्सारको बेरियलसम्म पुगेको थियो । घटनाबारे बुझन भन्सार तिमिल्सिनालाई सम्पर्क गरिएपनि उनले उठाएका छैनन् ।

clock आइतबार ११, जेठ २०८२ १४:०३

प्रतिक्रिया