हिमशिखर सहकारीको डोटी कार्यालय २ वर्षदेखि बन्द, ५ सय बचतकर्ताले पाएनन् ५ करोड बचत फिर्ता

  शुक्रबार ०९, जेठ २०८२ १६:५८

डोटी । २०६५ सालमा केन्द्रीय कार्यालय दिपायल रहने गरी स्थापना गरिएको हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको पाँच करोड रुपैयाँ हिनामिना गरेको पाइएको छ । डोटीको मुख्य व्यापारिक केन्द्र पिपल्ला, दिपायल, सिलगढी र राजपुर बजारबाट सहकारीले प्रत्येक दिन बचत जम्मा गर्ने उद्देश्यले व्यापारीहरूसँग रकम उठाउने गरेको थियो ।

पिपल्ला बजारमा होटल व्यवसाय गर्दै आएका चेतबहादुर खड्काले श्रीमती र आफ्ना नाममा गरी दुई खातामा ६ लाख ६४ हजार ६ सय ९९ रुपैयाँ जम्मा गरेका थिए । छोरा संस्कार खड्काको नाममा ४ लाख १२ हजार ९ सय १० रुपैयाँको मुद्दती खाता खोलेका थिए । छोरालाई पढाउनका लागि बचत गरिएको रकम अहिलेसम्म फिर्ता पाउन सकेका छैनन् । सहकारीको कार्यालय दुई वर्षदेखि बन्द छ ।

''दुई पैसा बचत होला भनेर आफूले खाइ नखाई गरेर सहकारीमा जम्मा गर्‍यो । ब्याज त परको कुरा हो, सावा पनि दिइएन,'' खड्काले भने, ''सहकारीका पदाधिकारीलाई पटक–पटक जानकारी गराउँदा पनि सुन्दैनन् ।''

स्थानीय व्यापारी सर्वजित देउवाले करिब सात लाख रुपैयाँ हिमशिखर सहकारीमा जम्मा गरेको बचत फिर्ता नपाएको बताएका छन् । ''दिनभरि व्यापार गरेर सानोसानो रकम जम्मा गर्‍यो, तर अहिले घर न घाटको भयो,'' उनले भने ।

त्यस्तै, सुजङ अस्पतालले पनि हिमशिखरमा १४ लाख रुपैयाँ बचत गरेको अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले बताए । उक्त सहकारीमा स्थानीय ५ सय ४ जना व्यापारी तथा सर्वसाधारणले बचत गर्दै आएका थिए ।

सहकारीले १ सय १२ जनालाई ऋण स्वरूप ३ करोड ९९ लाख ६८ हजार ८ सय ३५ रुपैयाँ लगानी गरेको छ भने पाँच करोड २३ लाख आठ सय ६१ रुपैयाँ बचतकर्तालाई फिर्ता गर्नुपर्ने सहकारीका अध्यक्ष धनबहादुर शाहीले बताए । हाल सहकारीको आठ वटा बैंक खातामा जम्मा १ लाख ८४ हजार ३ सय ३८ रुपैयाँ मात्रै बचत रहेको जानकारी पनि उनले दिएका छन् । अध्यक्ष शाहीका अनुसार, ''बजारमा न्यूनतम १ लाखदेखि बढीमा १३ लाखसम्मको ऋण उपलब्ध गराइएको थियो । धेरैले फिर्ता नगर्दा सहकारी अहिले यो अवस्थामा पुगेको हो ।''

हिमशिखर सहकारीका पूर्व कार्यालय प्रमुख दीपक साउदले आफ्नो नाममा दुई करोड १८ लाख रुपैयाँ हिनामिना गरेको आरोप अध्यक्ष शाहीले लगाए । ''यो पैसाको के कति काममा प्रयोग गर्नुभयो भन्नेबारे हिसाब दिन १० दिनको म्याद दिइएको थियो । तीन महिना पुग्दासमेत कुनै किसिमको हिसाब दिइएको छैन । बुझ्न खोज्दा पनि आलटाल गर्न थालिएको छ,'' उनले भने । लगानी गरिएको ऋण उठाएपछि बचतकर्ताको सम्पूर्ण रकम फिर्ता गरिने दाबी अध्यक्ष शाहीले गरेका छन् । बचत फिर्ता नदिएपछि सहकारीको कार्यालयमा दुई वर्षदेखि ताला लगाइएको छ । कान्तिपुरबाट

clock शुक्रबार ०९, जेठ २०८२ १६:५८

प्रतिक्रिया