धनगढी–१२ का जनप्रतिनिधिको ३ वर्ष : भौतिक पूर्वाधारसँगै सुशासनमा विशेष जोड
धनगढी । धनगढी उपमहानगरपालिका वडा नं. १२ का जनप्रतिनिधिहरूले स्थानीय तह निर्वाचन २०७९ पश्चात् कार्यभार सम्हालेको तीन वर्ष पूरा गरेका छन्। सो अवसरमा आयोजित वडा विशेष कार्यक्रममा उनीहरूले आफ्नो तीन वर्षे प्रगति विवरण सार्वजनिक गरेका हुन्।
सुशासन र सेवा प्रवाह
वडाले सुशासनलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै वडा अध्यक्ष शेर बहादुर महराले सीमित बजेटका बाबजुद कार्यालयबाटै सहज र पारदर्शी सेवा सुरुवात गरिएको बताए। पूर्वाधार अभावमा रहेको कार्यालयमा हाल पर्याप्त फर्निचर, इन्भर्टरदेखि एसीसम्मको व्यवस्था गरिएको छ। वडामा कर्मचारी संख्या पर्याप्त भएकाले सेवाग्राहीहरूले सजिलै सेवा पाउँदै आएको वडा सचिव नर वडको भनाइ छ।
भौतिक पूर्वाधार विकास
वडाले अतिक्रमण हटाउने र डुबान न्यूनीकरण गर्ने अभियानबाट कामको थालनी गरेको थियो। पछिल्ला तीन वर्षमा ६।५ किलोमिटरभन्दा बढी सडक ग्राभेल, ७०० मिटरभन्दा बढी सडक मर्मत तथा ३०० मिटर कालोपत्रे सम्पन्न भएको वडाका सब(इन्जिनियर देवराज जोशीले जानकारी दिए। यसैबीच नाला, पक्की नाली, विद्यालय तथा सामुदायिक भवन, खानेपानी, सिंचाइ लगायतका पूर्वाधार निर्माणमा निरन्तरता दिइएको छ।
शिक्षा क्षेत्रको सुधार
वडामा रहेका ६ सामुदायिक विद्यालयमा भवन, शैक्षिक सामग्री र प्रविधिको प्रयोगमार्फत शैक्षिक गुणस्तर सुधार गरिएको छ। उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रोत्साहनस्वरूप सम्मान प्रदान गरिँदै आएको छ। हालै आयोजित कार्यक्रममा आधारभूत तहमा उत्कृष्ट नतिजा ल्याउने ३ जना विद्यार्थी सम्मानित भएका थिए।
स्वास्थ्य सेवा र पहुँच
विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकमार्फत घरदैलोमै मासिक स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ। साथै, आधारभूत स्वास्थ्य केन्द्रबाट खोप, पोषण, भिटामिन कार्यक्रम निरन्तर सञ्चालनमा छन्। सेवा प्रभावकारी बनाउन आवश्यक उपकरण, घेराबार र खानेपानीको व्यवस्थापन गरिएको स्वास्थ्य केन्द्र प्रमुख सगिंता गौतमले बताइन्।
वातावरण, सरसफाइ र हरियाली अभियान
वडाले टोल–टोलमा डस्टबिन वितरण, सरसफाइ अभियान तथा वृक्षारोपण कार्यक्रम सञ्चालन गरिरहेको छ। “सफा वडा, हरियो वडा” नारालाई सार्थक तुल्याउने प्रयास गरिएको अध्यक्ष महराले जनाए।
सामाजिक समावेशिता र सुरक्षा कार्यक्रम
अपांगता भएका व्यक्तिहरूका लागि सहायक सामग्री वितरणदेखि अपांगमैत्री संरचना निर्माणसम्मका कार्य अघि बढाइएको छ। साथै, घरेलु हिंसा, बालविवाह, छाउगोठ प्रथा, लागुऔषध र मदिरा दुव्र्यसन विरुद्ध जनचेतनामूलक अभियान सञ्चालन गरिएको छ। यसबाट चोरी, तस्करी र झैँझगडामा कमी आएको अध्यक्ष महराको दाबी छ।
पर्यटन र सांस्कृतिक संरक्षण
सार्वजनिक जग्गा, मठ–मन्दिर र सम्पदा क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि पर्खाल, घेराबार तथा भवन निर्माण गरिएको छ। सिद्धनाथ बेहडाबाबा शनिधाम मन्दिरमा शिवको बृहत मूर्ति निर्माण अन्तिम चरणमा पुगेको छ। सबै जातजातिको धर्म तथा संस्कृतिको संरक्षणलाई प्राथमिकतामा राखिएको छ।
कृषिको विकासमा सघाउने मन्त्रीको प्रतिबद्धता
कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विर बहादुर थापाले वडाको पारदर्शी कार्यशैलीबाट सिक्नुपर्ने आवश्यकता औँल्याए। उनले विकासलाई मानव केन्द्रित र उत्पादनमुखी बनाउन सुझाव दिँदै कृषि पकेट क्षेत्र पहिचान गर्न सहयोग गर्न प्रतिवद्धता जनाए।
कार्यक्रममा उप–प्रमुख कन्दकला कुमारी राना, कृषि ज्ञान केन्द्र, खानेपानी संस्थान लगायत विभिन्न निकायका प्रमुख र सुरक्षा निकायका प्रतिनिधिको उपस्थिति थियो। वडाका ज्येष्ठ नागरिक, उत्कृष्ट करदाता, कर्मचारी, विद्यालय तथा सरोकारवालाहरूलाई सम्मान गरिएको थियो।
प्रतिक्रिया