अनियमीत लोडसेडिङले पठनपाठन प्रभावित भएको भन्दै विद्युत प्राधिकरणलाई ज्ञापनपत्र
धनगढी । एश्वर्य बहुमुखी क्याम्पस, कैलालीमा अध्ययनरत विद्यार्थीहरूले अनियमीत लोडसेडिङले हाल जारी विश्वविद्यालय स्तरका परीक्षा तयारीमा गम्भीर असर पारिरहेको भन्दै समाधानको माग गरेका छन्।
स्वतन्त्र विद्यार्थी युनियन, एश्वर्य बहुमुखी क्याम्पसले नेपाल विद्युत प्राधिकरण, धनगढी शाखालाई ज्ञापनपत्र बुझाउँदै अध्ययनमै जुटिरहेका विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको जनाएको छ।
ज्ञापनपत्रमा उल्लेख भएअनुसार अनियमीत नियमित रूपमा हुने लोडसेडिङका कारण मोबाइल चार्ज गर्न नपाउँदा विद्यार्थीहरू अनलाइन अध्ययनमा समेत बाधा पुगिरहेको छ। लामो समयको पढाइपछि हुने परीक्षाको तयारीका लागि यो समय अत्यन्तै संवेदनशील हुने उल्लेख गर्दै, यस्तो अवस्थामा विद्युत अवरोध हुनु विद्यार्थीहरूको लागि अन्यायपूर्ण भएको विद्यार्थी युनियनको भनाइ छ।
विद्यार्थी युनियनले प्राधिकरणसमक्ष परीक्षा अवधिभर अविच्छिन्न र नियमित विद्युत आपूर्ति सुनिश्चित गर्नुपर्ने, विशेषगरी बेलुकी र रातिको समयमा लोडसेडिङ नगर्न व्यवस्था मिलाउने , लोडसेडिङ गर्नैपरेमा यसको पूर्वजानकारी समयमै दिने भन्दै ३ बुँदे माग अघि सारेका छ्न्।
ज्ञापनपत्र बुझाउँदै युनियनका अध्यक्ष दीपक राज भट्टले भने, “विद्यार्थीहरू रातदिन मेहनत गरेर परीक्षा तयारी गरिरहेका छन्, यस्तो अवस्थामा लोडसेडिङले उनीहरू मानसिक रूपमा समेत तनावमा परेका छन्। विद्युत प्राधिकरणले तुरुन्त ध्यान दिनुपर्छ।” उक्त ज्ञापनपत्र स्ववियुका अन्य पदाधिकारीहरूको रोहवरमा बुझाएका थिए।
प्रतिक्रिया