अछामका सबै स्थानीय तहमा एमालेको अधिवेशन सम्पन्न

  शनिबार ०३, जेठ २०८२ ०७:३२

अछाम । अछामका १० वटै स्थानीय तहमा नेकपा (एमाले) अछामले अधिवेशन गरेको छ । चार नगरपालिका र छ गाउँपालिकामा सर्वसम्मत नयाँ नेतृत्वमा पालिका कमिटी चयन गरिएको हो ।   

मङ्गलसेन नगरपालिकामा डम्बरबहादुर रावलको नेतृत्वमा ४७ सदस्यीय, साँफेबगर नगरपालिकामा हिरण्डबहादुर कुँवरको नेतृत्वमा ४१ सदस्यीय र बान्नीगढी जयगढ गाउँपालिकामा हर्क साउदको नेतृत्वमा कमिटी चयन गरिएको छ । 

यस्तै तुर्माखाँद गाउँपालिकामा पदमबहादुर बिसीको नेतृत्वमा ४७ सदस्यीय, चौरपाटी गाउँपालिकामा झङ्करबहादुर साउदको नेतृत्वमा ३५ सदस्यीय पालिका कमिटी चयन गरिएको छ ।

यस्तै पञ्चदेवल विनायकमा गोरखबहादुर रावलको अध्यक्षतामा ३५ सदस्यीय र कमलबजार नगरपालिकामा कम्मानसिंह चलाउने अध्यक्ष रहने गरी ४५ सदस्यीय कमिटी सर्वसम्मत चयन गरिएको छ । 

ढकारी गाउँपालिकामा महादेव बुढा अध्यक्ष रहने गरी ३६ सदस्यीय र रामारोशन गाउँपालिकामा भिष्म साउदको अध्यक्षतामा पालिका कमिटी चयन गरिएको छ । मेल्लेख गाउँपालिकामा भने सुरेन्द्र साउदको नेतृत्वमा ३१ सदस्यीय पालिका कमिटी अघिल्लो वर्ष नै निर्वाचित भइसकेको बताइएको छ ।

दस वटै स्थानीय तहमा सर्वसम्मत रूपमा कमिटी चयन गरेर अधिवेशन सम्पन्न भएको एमाले अछामका अध्यक्ष शिवप्रसाद उपाध्यायले जानकारी दिनुभयो । 

एमाले अछामले वैशाख मसान्तभित्र पालिका अधिवेशन सम्पन्न गरिसक्नुपर्ने तय गरेको थियो । सोही कार्ययोजना अनुसार पालिका र वडा तहका अधिवेशन सम्पन्न गरिएको बताइएको छ ।

पालिका अधिवेशन सम्पन्न गर्नका लागि एमाले केन्द्रीय सदस्य रहेका क्षेत्र नम्बर १ का इन्चार्ज कमल तिमिल्सेना र क्षेत्र नम्बर २ का यज्ञ बोगटी, सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसी र अछामबाट प्रतिनिधित्व गर्ने प्रदेश सदस्य, जिल्ला कमिटीका अध्यक्ष शिवप्रसाद उपाध्यायसहित जिल्ला सदस्य खटिएका थिए ।   

clock शनिबार ०३, जेठ २०८२ ०७:३२

प्रतिक्रिया