चैतन्य पाठशालाले कक्षा ११ र १२ का टप २५ विद्यार्थीलाई छात्रवृत्ति दिने
धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको चैतन्य पाठशालाले ‘चैतन्य टप २५ छात्रवृत्ति योजना २०८२’ सार्वजनिक गरेको छ।
आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत सुदूरपश्चिम क्षेत्रका आर्थिक रूपमा कमजोर २५ जना जेहेन्दार विद्यार्थीहरूलाई कक्षा ११ र १२ मा निःशुल्क शिक्षा प्रदान गर्ने उद्देश्यसहित छात्रवृत्ति प्रदान गर्ने घोषणा गरिएको हो।
पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीका अनुसार विद्यालयले ६० लाख बराबरको छात्रवृत्ति प्रदान गर्नेछ।शैक्षिक सत्र २०८२ बाट सुरु हुने विज्ञान संकायमा कक्षा ११ सञ्चालनसँगै यो योजना लागु गरिने छ।
छात्रवृत्तिका लागि एसइई परीक्षाफल प्रकाशित भएपछि प्रतिस्पर्धात्मक प्रवेश परीक्षामार्फत विद्यार्थीहरू छनोट गरिनेछ। छात्रवृत्तिमा छानिएका विद्यार्थीहरूलाई वर्षभरिको मासिक शुल्क तथा ल्याब शुल्क निःशुल्क हुनेछ भने वार्षिक शुल्क भने तिर्नुपर्नेछ।
कार्यक्रममा चैतन्य पाठशाला र नेपाल महर्षि वैदिक फाउण्डेसनबीच सचेतनामा आधारित शिक्षाको प्रवर्द्धनका लागि द्विपक्षीय साझेदारी पनि गरिएको छ। उक्त साझेदारी अन्तरगत भावातीत ध्यान, वैदिक विज्ञान, योग, वास्तु, आयुर्वेद लगायतका विधालाई शिक्षण प्रक्रियामा समावेश गर्दै विद्यार्थीको समग्र व्यक्तित्व विकासमा टेवा पुर्याइने अपेक्षा गरिएको छ।
कार्यक्रममा नेपाल महर्षि वैदिक फाउण्डेसनका अन्तर्राष्ट्रिय डाइरेक्टर किंग्स्ले ब्रुक र उनकी पत्नि निर्देशक मीनराज अधिकारी, चैतन्य पाठशालाका अध्यक्ष गणेश जोशी, प्राचार्य प्रेमनिधि ओझासहित अभिभावक तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।
प्रतिक्रिया