आफ्नै निर्देशन कार्यान्वयन नभएपछि रीसाए प्रचण्ड, सुदूरपश्चिमका सबै सांसदलाई बोलाए हेडक्वार्टर

  सोमबार २३, बैशाख २०८२ ०९:०७

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुदूरपश्चिम प्रदेश सभाका सबै सांसदहरूलाई हेडक्वार्टर बोलाएका छन् । पटक(पटक सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूलाई पठाएको सर्कुलर कार्यान्वयन नगरेपछि आगामी २४ गते बिहान ९ बजे प्रचण्ड निवास खुमलटारमा सांसदहरुलाई बोलाइएको हो ।

केन्द्रीय कार्यालयबाटै सबै सांसदहरूलाई अनिवार्य उपस्थित हुन जानकारी गराइएको छ । ‘हामीलाई २४ गते हेडक्वार्टर आउनुहोस् भन्दै म्यासेज आएको छ’, एक प्रदेश सभा सदस्यले भने, ‘अध्यक्ष ज्यू सुदूरपश्चिम प्रदेशको विषयमा गम्भीर हुनुहुन्छ । आफ्नै निर्देशन कार्यान्वयन नभएपछि उहाँ रुष्ट हुनुहुन्छ ।’

२०८० माघ १२ गते बहुमतबाट खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाइएपछि माओवादीमा विवाद सुरु भएको थियो । १६ महिनादेखि संसदीय दलको विवाद कायम छ । प्रचण्डले प्रदेश संसदीय दलको नेता परिवर्तन गर्न दुई पटकसम्म लिखित पत्र पठाउँदा पनि निर्देशन कार्यान्वयन नभएपछि अहिले आफैले त्यसविषयमा चासो राखेका छन् ।

‘प्रचण्डले आफ्नै निर्देशन कार्यान्वयन गराउन नसकेको भन्दै चरम आलोचना भइरहेको छ’, माओवादी एक नेताले भने, ‘अहिले त्यो विषयमा वारपार गर्ने सोचमा हुनुहुन्छ ।’

अघिल्लो १४ फागुनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशका सबै सांसदलाई बोलाएर आफू कैलाली पुग्नभन्दा पहिल्यै संसदीय दलको विवाद टुङ्गो लगाउन निर्देशन दिएका थिए ।

आफूले पटक पटक लिखित तथा मौखिक निर्देशन दिँदा पनि उक्त निर्णय नफेरिएपछि सबैलाई खुमलटार बोलाएर कैलाली पुग्नुभन्दा पहिल्यै विवाद मिलाउन भनेका थिए । प्रचण्डले आफू कैलाली पुग्नुभन्दा पहिल्यै विवाद मिलाउन भनेपछि पनि दुई पटकसम्म उनी कैलाली पुगिसकेका छन् । तर, विवाद भने मिलेको छैन ।

माओवादी केन्द्र निकट थारु राष्ट्रिय मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्न कैलाली पुगेका प्रचण्ड विवाद नमिल्दै काठमाडौँ फर्किएका थिए । हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियान समापनभन्दा भन्दा अघिल्लो दिन कैलाली पुग्दा पनि विवाद मिलेन ।

संसदीय दलका नेताबाट भट्टलाई हटाइए धामीलाई जिम्मेवारी दिँदा सभामुख बाहेकका १० सांसद मध्य भट्टको पक्षमा ४ जना सांसद रहेका थिए भने, धामीको पक्षमा ६ सांसद रहेका थिए ।

धामीको पक्षमा रहेका शिव ओली पनि अहिले भट्टको पक्षमा उभिएपछि ५्५ जना पुगेका छन् । अहिले भट्टको पक्षमा ओलीसहित, झपट साउद,रमेश धामी, जानकी पौडेल कुवर रहेका छन् भने धामीको पक्षमा अक्कल रावल, ओमविक्रम भाट सरल, लक्ष्मी विक र गीता माल रहेका छन् ।

संसदीय दलका भट्टले बहुमत देखाउन सकेका छैनन् भने धामीले पनि थप सांसदलाई आफ्नो पक्षमा पार्न सकेका छैनन् । केन्द्रबाट दलको नेता परिवर्तनको पत्र आउँदा पनि सांसदहरूले चासो नदिएपछि अहिले प्रचण्ड आफैले सबै सांसदलाई काठाडमौँ बोलाएका हुन् ।

clock सोमबार २३, बैशाख २०८२ ०९:०७

प्रतिक्रिया