गेटा विश्वविद्यालय विधेयक संसदमा ल्याउन पहल गरिरहेको छु : एमालेका सचिव भट्ट
धनगढी । नेकपा एमालेका सचिव लेखराज भट्टले सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालयको विधेयक संसदमा ल्याउन पहल गरिरहेको बताएका छन्। प्रतिनिधिसभाको सोमवारको बैठकको कार्य सूचिमा राखिएको विधेयक अन्तिम समयमा हटाइएको थियो।
बुधवार सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय सङ्घर्ष समितिका पदाधिकारीसँग छलफल गर्दै सचिव भट्टले विधेयक पुनः कार्यसूचीमा राखेर पारित गराउन आफूले पहल गरिरहेको बताएका हुन। उनले विधेयक छिटो सदनमा पेस गरेर विश्वविद्यालय सञ्चालनका लागि प्रधानमन्त्री केपी शर्मा ओली लगायतलाई आग्रह गरेको बताए।
‘विधेयक आएर विश्वविद्यालय सञ्चालनमा आए यो आफै सस्टेन्स गरिहाल्छ’ उनले भने ‘यहाँ विश्वविद्यालय चलाउन भूगोल नै उपयुक्त भएकाले यहाँ बिरामी र विद्यार्थीको पनि अभाव हुँदैन।’ उनले विधेयक सँगै यस वर्षको नीति तथा कार्यक्रममा पनि गेटा विश्वविद्यालय समेट्न आवश्यक भएकाले त्यसका लागि पनि पहल गरिरहेको बताए।
उनले यहाँ विश्वविद्यालय हुन नदिन केही व्यक्तिले पुरै तागत लगाइरहेकाले समस्या भएको बताए। भेटमा सङ्घर्ष समितिका पदाधिकारीले विधेयक रोक्ने प्रयास गरिए दबाबका कार्यक्रम गर्न बताएका थिए। सङ्घर्ष समितिका संयोजक लोक राज पाण्डे (आगो) ले विधेयक सदनबाट पास गर्नका लागि यस क्षेत्रका नेताहरूले भूमिका खेलिदिनुपर्ने बताए।
सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालयको विधेयक २०८० माघ २९ गते राष्ट्रिय सभाबाट पारित भएको थियो। निकै ढिला गरी सोमवार प्रतिनिधि सभामा पेस हुने कार्यसूचीमा परेर पनि सभामुखले सम्बन्धित मन्त्री उपस्थित नभएको भन्दै हटाएका थिए।
प्रतिक्रिया