रेशम चौधरीलाई पक्राउ गर्ने सर्वोच्चको पत्र नै गलत
काठमाडौं । टीकापुर काण्डमा दोषी ठहरिएका रेशम चौधरीलाई पक्राउ गरेर थुनामा राख्न सर्वोच्च अदालतले डिल्लीबजार कारागारलाई आजै पत्राचार गरेको खुलेको छ । तर, उक्त पत्र के आधारमा पठाइयो भन्ने विषयले सर्वोच्चभित्रै हंगामा सिर्जना गरेको छ ।
स्रोतका अनुसार सर्वोच्चले रेशमलाई दिइएको आममाफी बदर गर्ने निर्णय लिएको छैन । तर, आज अचानक मुद्दा शाखाका अधिकृत महिमानसिंह विष्ट आफैँले हस्ताक्षर गरेको पत्र लिएर प्रहरी परिसर पुगेका थिए । अदालतको पत्र आउनासाथ तत्काल एक्सन लिँदै प्रहरीले चौधरीलाई प्रज्ञा भवनबाट पक्राउ गरेको हो ।
स्रोतका अनुसार उक्त पत्र कसरी र किन पठाइयो भनेर सर्वोच्चमा छानबिनको विषय बन्ने भएको छ । त्यसअघि रेशमलाई छुटाउन आजै अर्को पत्र पठाइन सक्ने स्रोतले बतायो ।
यस विषयमा महान्यायधिवक्ता रमेश बडालले नेपाल प्रेससँग कुरा गर्दै सर्वोच्चको पत्रका आधारमा रेशम पक्राउ परेको र यदि छुटाउन पत्र आएमा छुट्ने बताए ।
प्रतिक्रिया