हरिकिसनको हत्याबारे सांसद तारालामा तामाङद्वारा संसदमा ध्यानाकर्षण
कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–१० स्थित कलकत्ता क्षेत्र नजिक निर्मल शारदा आर्यघाटमा केही दिनअघि भएको रहस्यमय र दर्दनाक घटनाले स्थानीयवासीहरूमा शोक र आक्रोश फैलिएको छ। बेलडाँडी गाउँपालिका–३ कमरीका ५० वर्षीय हरिकिसन राना मोटरसाइकलसहित पूर्ण रूपमा जलेको अवस्थामा फेला परेपछि घटनाले थप रहस्य उत्पन्न गरेको हो।
राना गत मंगलबार बिहानै घरबाट निस्किएर करिब ७ किलोमिटर टाढाको आर्यघाट क्षेत्र पुगेका थिए, जहाँ उनी मृतावस्थामा भेटिएका हुन्। परिवारजनले रानालाई हातखुट्टा बाँधेर जलाइएको आशंका व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन र परिवारजनका लागि भरणपोषणको माग गरेका छन्।
घटनाको गम्भीरता देखेर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। तालिमप्राप्त कुकुरको सहयोगमा समेत घटनास्थलको अनुसन्धान गरिएको छ।
बेलडाँडी–बेलौरीका स्थानीय जनप्रतिनिधि र सङ्घीय सांसदहरूको उपस्थिति तथा प्रहरीको गम्भीर अनुसन्धानपछि पनि घटनाको वास्तविकता अझै स्पष्ट भइसकेको छैन। स्थानीयवासीले दोषीहरू चाँडै सार्वजनिक हुने अपेक्षा व्यक्त गरेका छन्।
यसै सन्दर्भमा कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तारा लामा तामाङले आइतबार संसद्को आकस्मिक समयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद तामाङले रानाको मोटरसाइकल र शरीरमा आगो लगाई हत्या गरिएको दाबी गर्दै घटनाको निष्पक्ष छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न सरकारसँग माग गरे।
उनले सभामुखमार्फत सरकारलाई गम्भीर ध्यानाकर्षण गराउँदै कञ्चनपुरकै निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात वर्ष पुग्न लाग्दा समेत अपराधी पत्ता नलाग्नु दुःखद भएको टिप्पणी गरे । साथै, सांसद तामाङले हाल शिक्षकहरूले गरिरहेको आन्दोलनका सम्बन्धमा पनि संसदमा आवाज उठाउँदै शिक्षकहरूको जायज माग तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरे । उनले शिक्षकहरूले पनि कार्यस्थलमा फर्किएर शिक्षा क्षेत्रमा जिम्मेवारीपूर्वक काम गर्नुपर्ने धारणा व्यक्त गरे।
प्रतिक्रिया