कैलालीको टीकापुरमा प्रचण्डको बासकै विषयमा विवाद, सहिद परिवारको घरलाई भनियो ‘अुसरक्षित’

  सोमबार १६, बैशाख २०८२ १५:०२

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज कैलालीको टीकापुर पुग्दैछन् । जनतासँग माओवादी : तराई मधेश जागरण अभियानअन्र्तगत बर्दिया पुगेका प्रचण्ड साँझ ५ बजे सत्तीघाट पुल हुँदै टीकापुर प्रवेश गर्ने कार्यक्रम छ । उनको आजको बास टीकापुर नगरपालिका भित्रै हुनेछ ।

प्रचण्डको बासका विषयमा भने पार्टीभित्र विवाद सुरु भएको छ । स्रोतका अनुसार सुरुमा उनको बास टीकापुर नगरपालिका वडा नम्बर ७, ८ र ९ मा रहेका कुनै सहिद परिवारको घरमा हुने भनिएको थियो । असुरक्षाको कारण देखाएर सहिद परिवारको घरमा बस्ने योजना रद्व भएको बताइएको छ । 

केही व्यक्तिहरुले प्रचण्डको बास टीकापुर नगरपालिका वडा नम्बर १ स्थित व्यवसायी टीकाराम जैशीको घरमा हुनुपर्ने बताए । प्रचण्डसँग नजिकको सम्बन्ध रहेका जैशीको घर सशस्त्र प्रहरीको शिक्षालयसँगै जोडिएको छ । 

बास बस्ने विषयलाई लिएर पार्टीका नेताहरुबीच छलफल भइरहेको बेला नगर अध्यक्ष धनसिँह साउँदको टीकापुर नगरपालिका वडा नम्बर ८ स्थित घरमै बस्नुपर्ने कुरा उठ्यो । टीकापुर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष दीर्घ ठकुल्लाले सहिद परिवारको घरमा नबस्ने भए नगर अध्यक्षकै घरमा बास बस्न उपयुक्त हुने कुरा राखे । 

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड बास बस्ने कुरा अहिलेसम्म टुङ्गिएको छैन । नगर अध्यक्ष साउँदले अहिलेसम्म गाउँतिरै बास बस्ने सल्लाह भएको बताए । ‘प्रदेश इञ्चार्जले टुङ्ग्याउनु हुन्छ,’ उनले भने, ‘गाउँतिरको बसाई सुरक्षाको हिसाबले राम्रो हुन्न की भन्ने कुरा पनि उठेको छ ।’

तर व्यवसायी जैशीले बास बस्ने कुरामा कुनै विवाद नरहेको बताए । उनले प्रचण्ड नगर अध्यक्ष साउँदकै घरमा बास बस्ने कुरा तय भइसकेको जानकारी दिए । ‘गाउँमै बस्दा राम्रो हुन्छ,’ उनले भने, ‘यो सबै गलत हल्ला हो । कुनै विवाद छैन ।’

व्यवसायी जैशीले त्यसो भने पनि केही नेताहरु भने प्रचण्डलाई उनकै घरमा बास बसाउने कुरामा अझै लागेका छन् । उनीहरु सुरक्षाको कारण भन्दै प्रचण्डलाई जैशीको घरमा बास बसाउने अभियानमा छन् । 

केही व्यक्तिहरुले सोसल मिडियामा लेखेर प्रचण्डको बासको विषयमा भइरहेको विवादको संकेत गरेका छन् । माओवादी नेता नेपबहादुर चौधरीका भाईसमेत रहेका कृष्णकुमार चौधरी आमुलले फेसबुकमा ‘१५ गते टीकापुरमा अध्यक्ष कमरेड प्रचण्डको बसाइ सहिद परिवारको घरमा मिलाउदा बेस होला कि’ लेखेका छन् । 

उनको कुरोमा केही नेता कार्यकर्ताहरुले समर्थन जनाएको देखिन्छ । 

clock सोमबार १६, बैशाख २०८२ १५:०२

प्रतिक्रिया