सुदूरपश्चिमका मुख्यमन्त्री शाह भारत भ्रमणमा जाने
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह भारत भ्रमणमा जाने भएका छन् । १० सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै उनी भारतको दिल्ली, देहरादुन र लखनउ भ्रमण गर्ने मुख्यमन्त्री शाहका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिए । उनका अनुसार भ्रमण टोली काठमाडौँबाट हवाईमार्ग भएर दिल्ली जाने छ ।
भ्रमण टोलीमा प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा, पूर्वमन्त्री एवं नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी, पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक नरेशकुमार शाही रहनुभएको छ ।
यसै गरी नेकपा (माओवादी केन्द्र) बाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य झपटबहादुर साउद, नीति तथा योजना आयोगका सदस्य शेरबहादुर भण्डारी, प्रदेशका मुख्य सचिव डा. कमलप्रसाद पोखरेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुरतकुमार बम भ्रमण टोलीमा रहने छन् ।
यस्तै मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा. जितु उपाध्याय र स्वकीय सचिव रामबहादुर विष्ट पनि भ्रमण टोलीमा रहने छन् । भारत भ्रमणका लागि २५ जनालाई लैजाने प्रदेश सरकारको प्रस्ताव थियो तर नेपालस्थित दूतावासले १० जनालाई मात्रै व्यवस्थापन गर्न सक्ने भनेपछि १० जनाले स्वीकृति पाएका हुन् ।
भारत भ्रमणका क्रममा प्रदेश सरकारले आयोजना गर्न गइरहेको लगानी सम्मेलन, उर्जा, पर्यटन, कृषिलगायतका विषयमा छलफल हुने बताइएको छ । यद्यपि छलफलका सम्पूर्ण एजेन्डा टुङ्गो लगाउन अझै बाँकी रहेको प्रेस तथा जनसम्पर्क सल्लाहकार बमले जानकारी दिए ।
भारत भ्रमणका क्रममा गर्नुपर्ने छलफलको विषय तय गर्न र राय सुझाव लिनका लागि मुख्यमन्त्री शाहले बिहीबार सर्वदलीय बैठक बोलाएका थिए तर त्यस बैठकमा प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीको उपस्थिति भएन ।
दुई पार्टीको उपस्थिति नभएपछि बैठकमा उपस्थितबिच मुख्यमन्त्री शाह नेतृत्वको टोलीको भारत भ्रमणका विषयमा सामान्य छलफल भएको नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले जानकारी दिए ।
उनले बैठकमा उपस्थित प्रतिपक्षी दल राप्रपाका खेमादेवी विष्ट र स्वतन्त्र प्रदेश सभा सदस्य तारादत्त जोशीले पर्यटन, सीमा सम्बन्ध, कृषिलगायत विषयमा भारतसँग छलफल, संवाद गर्न सुझाव दिएको उल्लेख गरे ।
प्रतिक्रिया