आगामी आर्थिक वर्षमा प्रदेश सरकारले कृषि, पर्यटन योजनालाई प्राथमिकता दिने
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा कृषि, पर्यटन, पूर्वाधार, उर्जालगायत क्षेत्रका योजनालाई प्राथमिकता दिने जनाएको छ ।
प्रदेश नीति तथा योजना आयोगले आज धनगढीमा आयोजना गरेको आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम र प्रदेशको प्राथमिकता विषयक कार्यक्रममा सो कुरा जनाएको हो । बजेट निर्माणमा जुटेको सरकारले यसबारे विज्ञबाट राय, सुझावसमेत लिएको छ ।
कार्यक्रममा कृषिको आधुनिकीकरण तथा व्यवसायीकरण, पर्यटन विकास, गुणस्तरीय भौतिक पूर्वाधार विकास, उर्जा, यातायात, सञ्चार, आवास, खानेपानी र सिँचाइका योजनालाई प्राथमिकता दिने जनाएको छ ।
यसैगरी, सामाजिक विकास (शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, संरक्षण एवम् रोजगारी), औद्योगिकीकरण, गरिबी निवारणका योजनालाई प्राथमिकता दिने बताइएको छ । यस्तै, जडिबुटी उत्पादनसहितको वन तथा वातावरणमैत्री हरित विकास, संस्थागत सवलीकरण र डिजिटल प्रदेशका योजनालाई प्राथमिकता दिने जनाइएको छ ।
छलफल कार्यक्रममा विज्ञहरुले स्वास्थ्य, शिक्षा, रोजगार, पर्यटन लगायतलाई सरकारले प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन् । कार्यक्रममा मुख्यमन्त्री कमलबहादुर शाहले विज्ञहरुले दिएको सुझावलाई प्रदेश सरकारले आगामी नीति तथा कार्यक्रममा समेट्ने बताए ।
प्रदेशको सामाथ्र्यअनुसार सरकारले ठोस कार्यक्रममा लगानी गर्ने उनको भनाइ थियो । उनले आवश्यकतानुसार प्रदेश सरकारले योजना छनोट गर्ने भन्दै थपे, “आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम लागि नागरिक जनजीवनसँग सम्बन्धित प्रभावकारी र नविनतम् नीति तथा कार्यक्रम सरकारले ल्याउनेछ ।”
प्रदेश सरकारले चालु खर्च घटाउने, पुँजीगत खर्च र राजस्व बढाउने मुख्यमन्त्रीको भनाइ थियो । उनले विकासमा सुशासन कायम गर्ने उल्लेख गरे ।
प्रतिक्रिया