शिक्षक आन्दोलनले पाठ्यपुस्तक अलपत्र
दार्चुला । गत चैतको अन्तिम साता नै पाठ्यपुस्तक जिल्लाका नौ वटै स्थानीय तहमा पुगिसकेको भए पनि सङ्घीय राजधानी काठमाडौँमा जारी शिक्षक आन्दोलनको प्रभावले दार्चुलामा पुस्तक दिवस प्रभावित भएको छ । विगतका वर्षमा नयाँ शैक्षिक सत्र सुरु भएको जानकारीसहित वैशाख ५ गतेका दिन भव्यताका साथ पुस्तक दिवस मनाउने गरिन्थ्यो ।
“विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थी र जनप्रतिनिधिहरूको सहभागितामा पुस्तक दिवस भव्य रूपमा मनाउने योजना थियो तर शिक्षकको आन्दोलनले दिवस प्रभावित भएको शिक्षा विकास तथा समन्वय एकाइ दार्चुलाका कार्यालय प्रमुख जयराज पन्तले बताउनुभयो । दिवस मात्र होइन विद्यार्थी भर्ना पनि प्रभावित भइरहेको उहाँले बताए । जिल्लाका अधिकांश विद्यालय बन्द छन् । सदरमुकाम खलङ्गामा रहेको महेन्द्र माध्यमिक विद्यालयले त वैशाख २ गते एक सूचना जारी गरेर विद्यार्थी भर्नालगायतका सबै कार्यक्रम अर्को सूचना नआएसम्म स्थगित गरेको जानकारी गराएको छ ।
यसैबिच सदरमुकाम खलङ्गामै रहेको महाकाली नगरपालिकाले वैशाख ५ र ६ गते सञ्चालन गर्ने भनेको आधारभूत तह ९कक्षा–८० स्तरीय ग्रेडवृद्धि परीक्षासमेत स्थगित गरेको छ । नगरपालिकाले वैशाख ३ गते सूचना जारी गर्दै परीक्षा कार्यक्रम स्थगित भएको सरोकारवाला सबैलाई जानकारी गराएको हो ।
नेपाल शिक्षक महासङ्घको राष्ट्रव्यापी आन्दोलन तथा शैक्षिक हडतालका कारण परीक्षा कार्यक्रम स्थगित गर्नु परेको महाकाली नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ईश्वरी ठगुन्नाले जानकारी दिए । शिक्षक आन्दोलनको प्रभाव सदरमुकाम खलङ्गाका केही विद्यालयमा देखिएको भए पनि ग्रामीण भेगका स्थानीय तहका विद्यालयले आंशिक रूपमा पुस्तक दिवस मनाइरहेको प्रमुख पन्तले बताए ।
प्रतिक्रिया