एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्डः पोटलीको साथ
धनगढी । कैलालीको धनगढीमा हुने छैठौं संस्करणको एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्डलाई पोटली फुड्सले साथ दिएको छ । रैथाने परिकारलाई आधुनिक शैलीमा पस्किदै रेष्टुरेण्टमा नयाँपन ल्याएको धनगढीस्थित पोटली फुड्सले अवार्डलाई फुड पार्टनरका रुपमा साथ दिएको हो ।
सो सम्बन्धी सम्झौता पत्रमा पोटली फुड्सका सञ्चालक व्यवस्थापक माधव रोस्यारा र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीपक पाठकले हस्ताक्षर गरे ।
चैत १९ गते कैलालीको धनगढीमा हुने कार्यक्रममा आठ विधामा अवार्ड प्रदान गरिनेमा वर्ष खेलाडी महिला, सुदूरपश्चिम आइकन पुरुष र महिला तथा वर्ष युवा खेलाडी र वर्ष प्रशिक्षकको मनोनयन सार्वजनिक भइसकेको छ । वर्ष खेलाडी महिलाको मनोनयनमा खोखोकी मानमती धामी, कबड्डीकी मानमती बिष्ट र बक्सिङकी स्वस्तिका तिरुवा परेका छन् ।
वर्ष युवा खेलाडीको मनोनयनमा क्रिकेटका नरेन साउँद, फुटबलका निराजन धामी र कबड्डीका सुशील चुनारा परेका छन् । यस्तै, वर्ष प्रशिक्षकको मनोनयमा कबड्डीका विष्णुदत्त भट्ट, भलिबलका जगदीश भट्ट र कबड्डीकै हरिना थापा परेकी छिन् ।
सुदूरपश्चिम आइकन पुरुष विधामा कबड्डीका खगेन्द्र जोशी, पौडीका अथर्व सिंह र क्रिकेटका हेमन्त धामी तथा सुदूरपश्चिम आइकन महिला विधामा करातेकी मनिषा बोहरा, कबड्डीकी मनिषा जोशी र क्रिकेटकी सावित्री धामी मनोनयनमा परेका छन् । अब वर्ष खेलाडी पुरुषको मात्रै मनोनयन सार्वजनिक गर्न बाँकी छ ।
उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५–३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५–२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले जानकारी दिए । उनका अनुसार सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २०–२० हजारसहित ट्रफी प्रदान गरिनेछ ।
धनगढी रंगशालामा हुने अवार्डमा विभिन्न सांगितिक प्रस्तुति पनि रहने आयोजकले जनाएको छ । गायक दुर्गेश थापाको पनि प्रस्तुति रहने मञ्चले जनाएको छ ।
सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीएको मुख्य प्रायोजनमा अवार्ड भइरहेको हो । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् मुख्य प्रबद्र्धक रहेको छ भने कैलाली उद्योग वाणिज्य संघ, धनगढी उपमहानगरपालिका, पुनरवास नगरपालिका, परशुराम नगरपालिका, कृष्णपुर नगरपालिका, कैलारी गाउँपालिका तथा धनगढी उपमहानगरपालिका वडा नम्बर १, २, ३, ४, ९, १३ र १८ ले प्रबद्र्धक रहेका छन् । अवार्डलाई चैतन्य पाठशाला, सीपी अस्पताल, मायामेट्रो अस्पताल, निसर्ग अस्पताल, बिवाइडी मोटर, ठाकुर एग्रो इन्ड्रष्टिज र हिमालयन गौरीशंकर डेन्टलले पनि प्रायोजकका रुपमा साथ दिएका छन् । यस्तै इन्टरनेट पार्टनरका रुपमा भायानेट र हस्पिटालिटी पार्टनरको रुपमा होटेल डिभोटी जोडिएको छ ।
प्रतिक्रिया