तलब नपाएपछि टीकापुर नगरपालिकाका कर्मचारी धर्नामा
टीकापुर । दुई महिनादेखि तल नपाएको भन्दै टीकापुर नगरपालिकाका करार तथा ज्यालादारी कर्मचारीले प्रमुख प्रशासनिक कार्यालयमा धर्ना दिएका छन् ।
फागुन २६ गते सोमबार विभिन्न वडा कार्यालय, वडास्थित स्वास्थ्य संस्थाहरू र कार्यालयका विभिन्न शाखामा करारमा कार्यरत कर्मचारीहरूले काम छोडेर मुख्य कार्यालयमा पुगेर धर्ना दिएका हुन् ।
स्थायी कर्मचारीहरूले महिनैपिच्छे तलब पाए पनि करार कर्मचारीले माघ र फागुनको तलब नपाएको उनीहरूको गुनासो छ ।
‘‘वडास्थित विभिन्न कार्यालय र शाखाबाट हाजिरी प्रमाणित भई नआएका कारण माघ महिनाको तलब पठाउन ढिलो भयो,’’ नगरपालिकाका लेखापाल देवीकृष्ण जैसीले भन्नुभयो, ‘‘प्रमुख प्रशासकीय अधिकृत बिदा बस्नु भएकाले तलब पठाउन सकिएको छैन ।’’
टीकापुर नगरपालिकामा १३८ जना करार तथा ज्यालादारी कर्मचारी छन् भने ८४ जना स्थायी कर्मचारी छन् ।
नगरपालिकाका प्रशासकीय अधिकृत प्रमुख देवीप्रसाद आचार्यले नगरपालिकामा भएको निर्णयमा चित्त नबुझेको भन्दै कार्यपालिका सदस्यहरूले केही दिन यता अधिकृत मुख र प्रशासन शाखामा कार्यपालिका सदस्यहरूले तालाबन्दी गरेका कारण प्रशासनिक काम गर्न कठिनाइ भइरहेको बताउनुभयो । आचार्यका अनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले टीकापुरमा कामकाजका लागि खटाइएका प्रमुख प्रशासकीय अधिकृत रविन्द्रप्रसाद चौधरी कार्यालयमा पुग्नु भएको छैन भने कार्यकक्षमा तालाबन्दीपछि प्रमुख प्रशासकीय अधिकृत दमनसिंह चौधरी विदामा बस्नु भएको छ ।
स्थायी कर्मचारीहरूले समयमै तलब पाउने करार र ज्यालादारीका कर्मचारीलाई तलब नपठाउनु कार्यालयको हेपाहा प्रवृत्ति भएको कर्मचारको गुनासो छ । ती कर्मचारीहरू भन्छन्, ‘‘दुई महिनादेखि तलब पाएको छैन, प्रमुख प्रशासकीय अधिकृत बिदामा हुनुहुन्छ । नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर हुँदा कार्यपालिकाको बैठक बस्नुपर्ने, बैँक खाताहरूमा हस्ताक्षर परिवर्तन गर्नुपर्ने लगायतका काम गर्न एक हप्ताभन्दा बढी समय लाग्ने भएकाले हामी आत्तिएका छौं ।’’
नगरपालिकाको ४७औं कार्यपालिका बैठकमा मनपरी निर्णय गरेको भन्दै कार्यपालिका सदस्यहरूले फागुन २३ गते नगरपालिका प्रशासनमा लगाएको ताला खुलेको छैन भने नगरप्रमुख रामलाल डगौरा थारू एक कार्यक्रममा सहभागी हुन एक साताका लागि विदेश भ्रमणमा हुनुहुन्छ ।
 
                     
                                 
                         
                                         
                                         
                                             
                                             
                                     
                                             
                                             
                                     
                                     
                                     
                                     
                                     
                                             
                         
                         
                         
                         
                        
प्रतिक्रिया