बाजुरामा ट्याक्टर दुर्घटना हुँदा बुवाको मृत्यु, छोरा घाईते
बाजुरा । बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने बालक घाइते भएका छन् ।
आइतबार राति ११ बजेको समयमा खप्तड छेडेदह गाउँपालिका–५ को चिराल्नामा कच्ची सडक खण्डमा डोगडीबाट बुढिगंगातर्फ आउँदै गरेको भे २ त १५८८ नम्बरको ट्याक्टर ओरालो सडकमा अचानक अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार दुर्घटनामा ट्याक्टर चालक बुढिगंगा नगरपालिका–४ खोलालवाडा बस्ने ३२ वर्षीय पदम रावतको घटनास्थलमै मृत्यु भएको हो । रावतको ट्याक्टरको ट्राली मुनी च्यापिएर घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
ट्याक्टरमा सवार मृतक चालकका १२ वर्षीय छोरा शमशेर रावत घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भने ट्याक्टर सवार अन्य दुई जना सकुशल रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया