म सांसद मात्रै बन्न प्रदेशसभामा लडेको होइन – प्रदेशसभा सदस्य खगराज

  सोमबार ०५, फागुन २०८१ १७:३४

धनगढी । नेकपा माओवादी केन्द्रका स्थाई कमिटि सदस्य एवं सुदुरपश्चिम प्रदेशसभा सदस्य खगराज भट्टले आफु सांसद बन्नका लागी मात्रै प्रदेशसभामा नलडेको बताएका छन् । डडेल्धुराको परशुराम नगरपालिका–४, कटालस्थित भागेश्वर माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको समारोहमा भट्टले मुख्यमन्त्री नभएर माननीय मात्रै हुन्छु भन्ने थाहा भएको भए चुनाव नलड्ने बताएका हुन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रदेशमा चुनाव जिते मुख्यमन्त्री बनाउने भनेको कारण प्रदेशमा चुनाव लडेको उनले बताएका हुन ।

‘खगराज जी प्रदेशमा चुनाव लड्नुस् । संघमा शेरबहादुरलाई छोड्नुस् । हाम्रो गठबन्धन छ । चुनाव जित्नु भो भने मुख्यमन्त्री तपाईँ भन्नू भाथ्यो,’ उनले भने, ‘मुख्यमन्त्री भइयो भने दुईचार अर्ब यहाँ हालौला । त्यो पैसाले कहाँ के गर्नुपर्छ भनेर तपाईँहरूसँग सल्लाह गरौला सोच्या थे । तर, मुख्यमन्त्री बनाएको गठबन्धन त चुनाव जितेको दुई महिनापछि सकियो । काँग्रेस प्रतिपक्ष, माओवादी कता, म कता, अर्को कता रु’ एमाले र काँग्रेसको सरकार भएकोले आफूहरू प्रतिपक्षमा रहेको बताउँदै उनले प्रतिपक्षबाट खबरदारी गर्ने बताए ।

उनले भौतिक पूर्वाधार विकास मन्त्री भएपनि ठिकै छ भनेको भएपनि एक महिनासम्म विना विभागीय मात्र रहेको बताए । पूर्व भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरा चुनाव जितेर सबैभन्दा बढी बजेट भएको मन्त्रालयको मन्त्री बन्न पाएको उनले जिकिर गरे। उनले भने, ‘पठान जी कमसेकम चुनाव जितेर सबैभन्दा बढी बजेट भएको भौतिक पूर्वाधार मन्त्रालयको मन्त्री त हुन पाउनु भो । दुर्भाग्य म त मुख्यमन्त्री भनेर गएको मान्छे भौतिकै भएपनि एक महिना मन्त्री के भएको थे । बिना विभागीय मन्त्री मै जागिर सकियो। पालै आएन त्यसपछि अब के गर्ने तपाईँहरू आफै भन्नुस् ?’

२०६४ साल, २०७० साल र २०७४ सालमा काग्रेंस सभापति शेर बहादुर देउवा सगं चुनाव लडेर पराजित भएका भट्ट उनै देउवाको सल्लाहमा प्रदेशको मुख्यमन्त्री बन्ने गरी प्रदेशसभामा निर्वाचन लडेका थिए ।
भट्टलाई मुखयमन्त्री बनाउने काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दहालको बिचमा सहमति भएको थियो। तर, माओवादी र काँग्रेसको संयुक्त सरकारले भट्टलाई मुख्यमन्त्री बन्न दिएन। उनको मुख्यमन्त्री तथा मन्त्री बन्ने सपना विना विभागीयमा टुङ्गियो ।

उनी माओवादी केन्द्रको संसदीय दलको नेतासमेत रहेनन् । पूर्वमन्त्री मानबहादुर धामी माओवादी केन्द्र, सुदूरपश्चिमको संसदीय दलको नेता छन् ।

clock सोमबार ०५, फागुन २०८१ १७:३४

प्रतिक्रिया