नेपाल–भारत सीमा वारिपारि बिहेबारी कायमै
धनगढी । कुनै बेला नेपाल–भारतका थारूबिच लगनगाँठो निकै कसिन्थ्यो । सीमा आसपास बस्ने उनीहरूले विवाह सम्बन्ध बलियो बनाएका थिए । पछिल्लो समय यस्तो विवाहमा कमी आए पनि सीमापारिबाट बिहेबारी अझै कायमै रहेको छ ।
दुवै देशका चौधरी थारू, रानाथारू र कठरिया थारू समुदायले विवाह सम्बन्धलाई कायमै राखेका हुन् । उनीहरूबिच दुलही दिने र ल्याउने कार्य भएको अझै पनि देख्न सकिन्छ । यसै साता धनगढी उपमहानगरपालिका–८ का २६ वर्षीय जगत चौधरी र भारतको चन्दन चौकीस्थित बुद्धपुरुवाका सुनिता चौधरीबिच धुमधामसँग विवाह भएको छ ।
कोरोना महामारीका क्रममा भएको सीमा बन्दाबन्दीले दुईबिच प्रेम बसेको थियो । त्यसपछि यो वर्ष धुमधामका साथ विवाह गरेर भारतबाट दुलही भित्र्याएको दुलाहाका दाइ पुनिराम चौधरीले बताए । “दुलही भित्र्याउनका लागि भारतका पन्चको सिफारिस आवश्यक थियो,” उनले भने, “त्यो कागजात देखाएपछि नाकामा समस्या भएन ।”
सुरुमा भारतबाट विवाह गर्ने कुरा अलि पत्यार नलागे पनि दुलहीका अभिभावक आएर कुरा छिनोफानो गरेपछि बल्ल ढुक्क भएको उनको भनाइ छ । दुलाहा जगत भारतको दिल्लीमा काम गर्ने बेला गर्ने एक आफन्तले दुवैबिच परिचय गराइदिउका थिए । त्यति बेला सुनिता हरियाणामा काम गर्थिन् ।
भिडियो कलबाट गरिएको चिनजानलाई कोरोना महामारीको लकडाउनले प्रेम सम्बन्धमा बदलेको दुलाहा जगतले बताए । नेपाल–भारत दुवै देशको सीमा क्षेत्रमा थारू समुदायको बसोबास रहेको छ । दुवैको भाषा, संस्कृति, संस्कार मिल्ने गरेकाले पहिलेदेखि दुलही ल्याउने, दिने कार्य हुँदै आएको अधिवक्ता देवीलाल चौधरीले बताए । “अहिले पहिलेको जस्तो दुई देशका थारूबिच विवाह हुँदैन,” उनले भने, “तर अझै पनि यदाकदा चेलीबेटी दिने, दुलही ल्याउने काम भएकै छ ।”
नेपालमा चौधरी र कठरिया थारू बढी छन् तर भारततिर दुवै थरका थारू समुदायको सङ्ख्या कम छ । यद्यपि रानाथारू भने अत्यधिक रहेका छन् । नेपालको कैलाली, कञ्चनपुर र भारतको विभिन्न क्षेत्रमा रानाथारूको बाक्लो बास रहेका कारण दुवै देशका रानाथारूबिच विवाह सम्बन्ध बढी गाँसिने गरेको थियो । कैलालीको धेरै जसो रानाघरमा पारिबाट आएका बुहारी छन् । त्यस्तै यताबाट पनि सोही हाराहारीमा चेलीहरू दुलही भएर गएका छन् ।
विगतमा नेपाल र भारतका रानाबिच धेरै विवाह भएको धनगढी उपमहानगरपालिका–१०, भुइँयाघाटका शालिकराम रानाले बताए । आफूले पनि भारतबाटै दुलही ल्याएको सुनाउँदै उनले भने, “अब भने भारत र नेपालका रानाबिच पहिलेको जस्तो विवाह हुने गरेको छैन । यताका केटी भारत विवाह गर्न मान्दैनन् । उताका केटी पनि विवाह गरेर यता आउन मान्दैनन् । नाकामा पनि झन्झट हुने गर्दछ ।”
त्यस्तै भारतको बेलापरसुआ र नेपालको पवेरा, चर्रालगायतका विभिन्न गाउँका कठरियाथारूबिच पनि विवाह सम्बन्ध गाँस्ने कार्य निकै भएको छ । यता र उताका कठरिया दुलाहालाई घोडामा बसाएर जन्ती जाने, आउने गर्थे । अचेल नेपाल–भारतका कठरियाबिच पनि विवाह गर्ने कार्य घटेको पवेरा गाउँवासीसमेत रहनुभएका पत्रकार प्रेम चौधरीले बताए ।
भारतको बेलापरसुआका स्थानीय लल्लन कठरियाले नेपाल–भारतका थारूबिच रोटीबेटीको सम्बन्ध रहेको उल्लेख गरे। उनले आफ्नो मामाघर पनि कैलालीमा रहेको जानकारी दिए ।
प्रतिक्रिया