काठमाडौँ–धनगढी हवाइ भाडा ह्वात्तै बढ्यो, यात्रु मारमा

  बिहिबार ०२, असोज २०८२ १२:२८

धनगढी । काठमाडौँ–धनगढी उडानमा न्यूनतम मूल्यका हवाइ टीकट पाउन छोडेपछि यात्रु मारमा परेका छन्। केही दिनयता विमान कम्पनीहरुले अधिकतम मूल्यका टीकट मात्रै बिक्री गर्दै आएका छन्। सामान्यतया साढे सात हजार रुपैयाँसम्ममा पाइने यो रुटका टीकट अहिले न्यूनतम १२ हजारभन्दा कममा उपलब्ध छैनन्। 

शुक्रबार भोलिका लागि काठमाडौँ–धनगढी उडानमा अनलाइनमार्फत १४ हजार ३ सय रुपैयाँमा मात्र केही सिट देखिएको छ भने अधिकांश टीकट १६ हजार ७८९ रुपैयाँमै बिक्रीमा छन्। धनगढी–काठमाडौँ फर्किने उडानमा भने अधिकांश टीकट ६ हजार ८९८ रुपैयाँमा कायम गरिएको छ। काठमाडौँ–धनगढी रुटमा अहिले २–३ दिन पछिसम्म पनि १२ हजारभन्दा कम मूल्यको टीकट अनलाइनमा देखिएको छैन।

जेन–जी आन्दोलनका कारण देशभर कर्फ्यु आदेश र यातायातका साधन बन्द भएपछि र चाडपर्व नजिकिँदै यात्रुको चाप बढेपछि विमान कम्पनीहरुले न्यूनतम मूल्य हटाएर अधिकतम मूल्यका टीकट मात्रै बिक्री गर्न थालेको यात्रुको आरोप छ। 

“अरुबेला साढे सात हजारमै यात्रु बोक्न मिल्ने तर चाडवाडका बेला नमिल्ने हुन्छरु” हालै यो रुटमा यात्रा गरेका धनगढीका खगेन्द्र साउँदले भने, “सरकारी निकाय मौन बस्दा चाडपर्व आउनै लाग्दा विमान कम्पनीको मनपरी सुरु भएको छ। स्वास्थ्य समस्याका कारण बाध्यतावश विमान चढ्नुपर्ने यात्रु मारमा परेका छन्।”

धनगढी विमानस्थल प्रमुख बालकुमार सिंहका अनुसार अहिले काठमाडौँ–धनगढी दैनिक आठ उडान भइरहेका छन्। तीमध्ये श्री एयरलाइन्सले छ र बुद्ध एयरले दुई उडान भर्दै आएका छन्। श्री एयरलाइन्सले आफ्नो एउटा विमान राति धनगढी विमानस्थलमै राख्ने गरेको छ। काठमाडौँसँग सिधा उडान हुने सुदूरपश्चिमको यो एक मात्र विमानस्थल हो।

clock बिहिबार ०२, असोज २०८२ १२:२८

प्रतिक्रिया