दशैंको मुखमा पनि रोजगारीका लागि भारत जाँदै सुदूरपश्चिमका नागरीक

  बिहिबार ०२, असोज २०८२ ०६:३३

कञ्चनपुर। हिन्दू नेपालीहरूको महान् चाड दशैं नजिकिँदै गर्दा पनि सुदूरपश्चिमका मानिसहरू भने रोजगारीको खोजीमा भारततर्फ गइरहेका छन्। विगतका वर्षहरूमा यस समयमा रोजगारीका लागि भारत गएका नेपालीहरू घर फर्कने क्रम बढ्ने गरेको भए पनि यसपटक कञ्चनपुरको गड्डाचौकी नाकामा फरक दृश्य देखिएको छ। 

हाल स्वदेश फर्कनेभन्दा भारत जानेको सङ्ख्या बढी रहेको छ। दशैंको समयमा विद्यालय बिदा हुने भएकाले बालबालिकाहरू पनि अभिभावकसँगै भारत गइरहेका छन्।

डोटीको जोरायल गाउँपालिका–२ का करन थापा परिवारसहित भारतको हिमाञ्चल प्रदेश जान लागेका छन्। उनले भने, “साँझ–बिहान छाक टार्न समस्या छ, पैसा नभई कसरी दशैं हुन्छरु” उनले पैसा कमाएर तिहार मनाउन घर फर्कने योजना रहेको बताए।

करन थापा मात्र होइन, डोटीको बाजिलेकबाट २५ जनाको समूह काम खोज्दै भारतको हिमाञ्चल प्रदेश गएको छ। बाजिलेककै मीनादेवी थापाले स्वदेशमा रोजगारी नपाएपछि श्रीमान्सहित भारतको सिमलामा स्याउ टिप्ने काम गर्न जान लागेको बताइन्। उनले भारतमा मजदुरी गरेर कमाएको पैसाले तिहार मनाउने सोच रहेको सुनाइन्।

बलबहादुर थापाले पनि दशैंको मुखमा बाध्यताले विदेश जानु परेको बताए। “पैसा नभई दशैं चल्दैन, यहाँ मजदुरी गर्नसमेत नपाइएपछि के गर्नु !” उनले एक महिना मजदुरी गरेर तिहारमा फर्किने सोच रहेको बताए।

सुदूरपश्चिम र कर्णाली प्रदेशका मानिसहरूका लागि भारत सधैं प्रमुख रोजगारी गन्तव्य रहँदै आएको छ। गरिबीका कारण परिवार पाल्न मुस्किल भएपछि उनीहरू चाडपर्वको मुखमा पनि भारततर्फ जाने गरेका छन्।

clock बिहिबार ०२, असोज २०८२ ०६:३३

प्रतिक्रिया