कञ्चनपुर कारागारबाट अठार भारतीय कैदी अझै फरार
कञ्चनपुर । कञ्चनपुर कारागारबाट फरार भएकामध्ये २८१ कैदीबन्दी फर्किएका छन् । बुधबार दिउँसोसम्म कञ्चनपुर कारागारमा सो सङ्ख्यामा कैदीबन्दी फर्किएका हुन् । गत साता मङ्गलबार साँझ आन्दोलनकारीले कारागारको ताला तोडेर कैदीलाई बाहिर निकालेपछि फरार रहेकामध्ये २७५ कैदी आफैँ कारागारमा फिर्ता भएका छन् भने २४ कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेर ल्याएको कारागार प्रशासनले जनाएको छ ।
कञ्चनपुर कारागारका निमित्त जेलर रामदत्त जोशीका अनुसार, बुधबारसम्म २७५ कैदीबन्दी इमानदारितापूर्वक कारागारमा आफैँ फिर्ता भएका छन् । २४ जना कैदीलाई प्रहरीको टोलीले जिल्लाका विभिन्न क्षेत्रबाट पक्राउ गरेर ल्याएको निमित्त जेलर जोशीले बताए ।
कञ्चनपुर कारागारमा गत मङ्गलबारसम्म ४७९ कैदीबन्दी रहेका थिए । जसमध्ये बुधबारसम्म पाँच कैदी कैद भुक्तान गरेर घर फर्किएका छन् । आन्दोलनका कारण कारागारबाट निस्केका पाँच कैदी कारागार फर्किएर कैद भुक्तान गरेर घर गएका निमित्त जेलर जोशीले बताए ।
कारागारबाट निस्किएका भारतीय कैदी भने सम्पर्कबाहिर रहेको कारागार प्रशासनले जनाएको छ । कारागारको सम्पर्कमा रहेका १० भारतीय कैदीबन्दी कारागार फिर्ता भएका छन् भने १८ भारतीय कैदीबन्दी अझै फरार रहेको निमित्त जेलर जोशीले बताए ।
यसै गरी कञ्चनपुर कारागारमा २६ महिला कैदीबन्दी रहेकोमा १४ जना फर्किएका छन् भने १२ महिला कैदीबन्दी अझै फरार रहेको कारागार प्रशासनले जनाएको छ । कञ्चनपुर कारागारमा कैद भुक्तान गरिरहेका १९३ जना कैदीबन्दी अझै फरार रहेको कारागार कार्यालयले जनाएको छ । फरार रहेका कैदीबन्दीलाई फिर्ता ल्याउन प्रयास गरिरहेको निमित्त जेलर जोशीले बताए ।
प्रतिक्रिया