बझाङ घर भएका अखिल नेता जोशीः ज्यान मार्ने प्रयासदेखि कीर्तेसम्मको अभियोग
धनगढी । काठमाडौंको ठमेलमा प्रहरीलाई कुटपिट गरेको अरोपमा अखिल नेता कमलराज जोशी बिहीबार पक्राउ परे । बझाङ घर भएर काठमाडौं बस्ने उनलाई बिहीबार दिउँसो प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरेको थियो । प्रहरीमाथि आक्रमण गरेको भन्दै यसअघि नै डडेल्धुराको गन्यापधुरा–५ घर भएका २२ वर्षीय रमेश फुलारा र ताप्लेजुङ घर भएका २५ वर्षीय दिनेश सिग्देल पक्राउ परेका थिए ।
राजनीतिक दवावमा प्रहरीले जोशीलाई उन्मुक्ति दिन खोजेको आरोप लागेको थियो । गृहमन्त्री रमेश लेखकले प्रहरीमाथि कुटपिट गर्ने सबैलाई कारबाही गर्न निर्देशन दिएपछि जोशी पक्राउ परेका हुन्।
बिज्ञापन जोशीलाई उक्त घटनाका मुख्य पात्र भनिएको छ ।
जोशीमाथि विगत पनि ज्यान मार्ने प्रयासदेखि कीर्तेसम्मको कसुर गरेको अभियोग छ । बझाङको दुर्गाथली गाउँपालिका–४ स्थायी घर भएका २९ वर्षीय जोशीविरुद्ध २०७९ सालमा दुई वटा फौजदारी कसुरमा मुद्दा चलेको थियो । बीएससी सीएसआईटीको प्रवेश परीक्षाको नतिजा नै कीर्ते गरेको आरोप जोशीलाई लागेको थियो । क्याम्पसको छाप र लेटरप्याड दुरुपयोग गरी नतिजा फेरबदलको आरोपमा जोशीविरुद्ध प्रहरी वृत्त लैनचौरबाट लिखत कीर्तेको कसुरमा मुद्दा चलाइएको थियो ।
त्यसको दुई महिनापछि जोशीसहितको समूहले २६ साउन २०७९ मा अस्कल क्याम्पसका विद्यार्थी विकास राईलाई मार्ने प्रयास गरेको थियो । त्यतिबेला जोशीसँगै हाल पक्राउ परेका सिग्देल र पक्राउ पुर्जी जारी भएर फरार रहेका गोपालबहादुर शाहीविरुद्ध पनि मुद्दा चलेको थियो । फलामको रड, इँटा, काठ, लट्ठी, हेल्मेट, सेरामिक टायल लगायतले टाउको तथा शरीरका विभिन्न भागहरूमा राईमाथि क्याम्पस परिसरकै बास्केट बल ग्राउण्डमा आक्रमण भएको थियो । राईको शरीरभरि निलडाम परेको थियो भने टाउकामा ९ वटा टाँका लगाउनु परेको थियो ।
राईको ज्यान मार्ने प्रयास गरेको भन्दै जोशीविरुद्ध १७ माघमा काठमाडौं जिल्ला अदालतमा ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा दर्ता भएको थियो । २०८० सालमा पनि जोशीविरुद्ध दुई वटा कसुरमा मुद्दा चलेको थियो । १७ वैशाखमा जोशीसहितका व्यक्तिले अखिल क्रान्तिकारी अस्कल क्याम्पसका अध्यक्ष खेम सिंहसहित चार जनामाथि आक्रमण गरेको थियो । उक्त घटनामा जोशीसहित अहिले प्रहरी आक्रमणमा संलग्न भएको आरोप लागेका सौजन्य शाही, गोपालबहादुर शाहीसहित पाँच जनाविरुद्ध ७ जेठ २०८० मा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।
२०८० सालमै जोशीविरुद्ध प्रहरी वृत्त लैनचौरको अनुसन्धान प्रतिवेदनबाट अभद्र व्यवहारको कसुरमा मुद्दा चलेको थियो । यस्तै, २० माघ २०७९ मा अस्कल क्याम्पसका तत्कालीन प्रमुख लोकबहादुर बराललाई जोशीसहितका व्यक्तिले अपहरण गरेको आरोप लागेको थियो ।
प्रतिक्रिया