धनगढीको काखमा रहेको जाखोर ताल चरा अवलोकनको गन्तव्य बन्दै

  मङ्गलबार २९, माघ २०८१ ०९:०९

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको काखमा रहेको जाखोर ताल यतिखेर चरा अवलोकनका लागि महत्वपूर्ण गन्तव्य बनेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–७, देवहरिया वनस्पति उद्यानमा रहेको यो तालमा विभिन्न प्रजातिका रैथाने र आगन्तुक जलपन्छीको उपस्थितिले जाखोर ताल चरा अवलोकनका लागि महत्वपूर्ण गन्तव्य बनेको हो । 

देहरिया वनस्पति उद्यानमा १२.५ हेक्टर क्षेत्रफलमा फैलिएको जाखोर तालमा हरिहाँस, नकटा, सिलसिले हाँस, बगाले सिम कुखुरा, लामऔँले, कुर्मा, कर्रा साउँरी, जलेवा, बकुल्लालगायत विभिन्न प्रजातिका जलपन्छी देखिने गरेका छन् । चरा अवलोकनका लागि विभिन्न ठाउँबाट चराप्रेमी जाखोर ताल पुग्ने गरेका छन् । 

धनगढी बजारनजिकै रहेको जाखोर तालमा यस वर्ष १७ प्रजातिका जलपन्छी अभिलेख भएको चराविद् एवं अनुसन्धानकर्मी हिरूलाल डङ्गौराले जानकारी दिनुभयो । उहाँले सहरी क्षेत्रमा यो ताल चरा अवलोकनका लागि निकै महत्वपूर्ण गन्तव्य रहेको उल्लेख गर्नुभयो ।

“बजार क्षेत्रमा बसोबास गर्ने मानिस बिदाको समय बिताउन र ‘स्ट्रेस फ्री’ हुन जाखोर ताल आउने गरेका छन्,” डङ्गौराले भन्नुभयो, “चरा हेरेमा मनमा छुट्टै आनन्द मिल्छ ।” यो तालमा पछिल्लो समय नेपालमा सङ्कटापन्न नकटा चरासहित सिलसिले हाँसको उपस्थिति निकै राम्रो छ ।

हाँस जातिको ठुलो नकटा चरा जाखोर तालमा दिनभरि पानीमा आहारविहार गरेको दृश्य आकर्षक देखिन्छ । यसै गरी विभिन्न प्रजातिका चराको आवाजले मन आनन्दित बनाउने गरेको छ । कैलालीमा विभिन्न प्राकृतिक तालमध्ये जाखोर ताल विभिन्न प्रजातिका चरा पाइने महत्वपूर्ण सिमसार रहेको वन अधिकृत लालबहादुर विकले बताउनुभयो । विगतमा जाखोर तालमा चरालाई मन नपर्ने जलकुम्भीलगायत मिचाहा प्रजाति बढी थियो ।  

clock मङ्गलबार २९, माघ २०८१ ०९:०९

प्रतिक्रिया