धनगढीमा  सीप तथा रोजगार मेलाबाट तालिम लिएर आत्मनिर्भर बनेकी शारदा

  शुक्रबार ०४, पुष २०८२ ०९:४२

धनगढी । गत बर्ष धनगढी उपमहानगरपालिकाले संचालन गरेको सीप तथा रोजगार मेलाबाट फेसन एण्ड टेलरिङ बिधामा तालिम लिएकी धनगढी–८ बस्ने शारदाकुमारी कडायत आत्मनिर्भर बनेकी छन् । धनगढी उपमहानगरपालिका–८ धनगढी गाँउमा शारदा फेसन एण्ड टेलरिङ पसल संचालन गरेर उनी आत्मनिर्भर बनेकी हुन् ।

सुरुमा २ मेसिनबाट कामको थालनी गरेकी उनले अहिले ५ वटा मेसिनबाट काम गरिरहेको बताइन् । ‘४ जना महिलालाई काम सिकाई रहेकी छु’ उनले भनिन् ‘सीप सिक्न आउने महिलाबाट मासिक एक हजार रुपैयाँ शुल्क लिने गरेकी छु । धेरै सिक्न आउछन् ।’

मेसिन अभावका कारण सिकारु फर्केर जाने गरेको उनले बताइन् । उनले भनिन् ‘महिलाका कपडाहरु सिलाउँछु,पेटीकोट सिलाई गरे बाफतको रु एक सय,सुटहरुको तीन सय,गावनको ६ सय,चोलोको तीन सय, कुर्ता सुरवालको तीन सय,मेक्सीको एक सय पचास रुपैयाँ लिने गरेकी छु ।’

भाडा र अन्य खर्च कटाएर मासिक २० हजार बचत हुने गरेको उनले बताइन् । आफ्नै मेहनतबाट पसल स्थापना गरेको उनले बताइन् । उनले भनिन् ‘धनगढी उपमहानगरपालिकाले सीप तथा रोजगार संचालन नगरेको भए म काम सिक्न पाउने थिएन र पसल संचालन गर्ने आँट आउन थिएन् ।’

‘घरमा आमा बुवा हुनुहुन्छ यही कामबाट घरखर्च चलिरहेको छ’ उनले भनिन् । ‘सवैभन्दा पहिला म धनगढी उपमहानगरपालिका र नगर प्रमुख गोपाल हमाल दाजुलाई धन्यबाद भन्छु’ उनले भनिन् ‘सीप सीकेर हामी जस्ता महिला आत्मनिर्भर हुन पाएका छौँ ।’

सानैदेखिको फेसन एण्ड टेलरिङको काम सिक्ने ईच्छा र सपना धनगढी उपमहानगरपालिकाले पूरा गरिदिएको उनले बताइन् । उनले यो बर्ष हुने सीप तथा रोजगार मेलामा बुटिक एण्ड कडाइ सिक्नका लागि फारम भरेको बताइन् ।

छनौट भएमा थप व्यापार बढाउन मद्धत पुग्ने उनले बताइन् । ‘यो तामिका लागि छनौट भए व्यापार बढाउने चाहाना छ’ उनले भनिन् ‘थप काम गर्न हौसला वढ्ने छ ।’

clock शुक्रबार ०४, पुष २०८२ ०९:४२

प्रतिक्रिया