अत्तरिया अर्जुन ट्रफीको फाइनलमा, उपाधीका लागि डडेलधुरासँग प्रतिस्पर्धा गर्ने
धनगढी । सिवाइसी अत्तरिया धनगढीमा जारी अर्जुन ट्रफीको फाइनलमा प्रवेश गरेको छ । फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको खेलमा अत्तरियाले डिसिए धनगढीलाई ६ विकेटले हरायो ।
जितका लागि धनगढीले दिएको एक सय नौ रनको लक्ष्य पछ्याएको अत्तरियाले १८ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । अत्तरियाका लागि शंकर रानाले अविजित ५६ रन बनाउनुभयो । दिपेश कंडेलले २४ र भीम सार्कीले १६ रन बनाए । बलिङमा धनगढीका हिक्मत महराले दुई तथा ललितनारायण राजवंशी, भोजराज भट्टले एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले २० ओभरमा सबै विकेटको क्षतिमा एक सय आठ रन बनाएको थियो । धनगढीका लागि मिलन बोहराले २८, अभिषेक पालले २७, दीपेन्द्रसिंह ऐरीले १५, राहुल भण्डारीले १३ र लोकेश बमले ११ रन बनाए ।
बलिङमा अत्तरियाका लागि विवेक यादव र कमल गुप्ताले दुई दुई तथा राशिद खान, दिपेश कंडेल र शाहब आलमले एक एक विकेट लिए । फाइनलमा अत्तरियाले फ्रेन्ड्स क्लब डडेलधुरासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया