कञ्चनपुरमा कलौनी मृत फेला प्रकरण : सिआईबीले पनि थाल्यो अनुसन्धान
कञ्चनपुर । कञ्चनपुरमा मृत फेला परेका नेपाली कांग्रेसका भीमदत्त नगर समितिका सभापति अच्युत कलौनीको अन्त्येष्टि गरिएको छ। हिजो (शनिबार) मृत फेला परेका कलौनीको शवको महाकाली प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरिएपछि आजै महाकाली नदीमा अन्त्येष्टि गरिएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार पोस्टमार्टम रिपोर्ट भने भोलिसम्ममा आउने छ। पोस्टमार्टमका लागि भेरी अस्पताल, नेपालगञ्जबाट फरेन्सिक विज्ञहरु महेन्द्रनगर आएका थिए।
साथै प्रहरीले घटनाबारे अनुसन्धान पनि जारी नै राखेको छ। शनिबार बिहान भीमदत्त नगरपालिका–१८ स्थित मामाभान्जा चोक नजिकै सडकपेटीमा कलौनी मृत फेला परेका थिए। उनी पेटीमा घोप्टो परेको अवस्थामा थिए।
त्यसपछि प्रहरीले अनुसन्धान थालेको थियो। अहिलेसम्म आइपुग्दा कलौनीको मृत्यु प्रकरणमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) को टोली पनि खटिएको छ।
सिआईबीका इन्स्पेक्टर सुर्यबहादुर शाही नेतृत्वको टोलीले घटनाको प्राविधिक अनुसन्धान थालेको छ। उता मृतकका बुबाले भने छोराको हत्या गरिएको हुनसक्ने आशंका गरेका छन्। मृतक कलौनीका बुवा जनकराजले अच्युतको हत्या गरेर फालिएको आशंका गरेका हुन्।
सो विषयमा गृहमन्त्री रमेश लेखकसमेतले घटनाको सूक्ष्म अनुसन्धान हुने जनाएका छन् भने सो घटनामा प्रहरीले सूक्ष्म अनुसन्धान थालेको जनाएको छ। प्रहरीले कलौनीको गायब भएको मोबाईल पनि खोजिरहेको छ भने घटनाबारे अनुसन्धान गर्न घटनास्थल र आसपासमा भएको सीसीटीभी फुटेज अध्ययन गर्दैछ।
मृतक कलौनीको शरीरमा कुनै चोटपटक थिएन। उनी मृत फेला परेको दिउँसो धनगढीबाट फर्किएपछि राति घरतर्फ लागेका थिए। त्यसपछि दोस्रो बिहान मृत फेला परेका थिए।
यसैक्रममा नेपाली कांग्रेस कञ्चनपुरले कलौनीको शंकास्पद मृत्युबारे निष्पक्ष छानबिनको माग गरेको छ।विज्ञप्ती जारी गरि पार्टीले एक होनहार र प्रतिभावान नेता गुमाएको भन्दै दुःख व्यक्त गरेको छ।
प्रतिक्रिया