कुम्भमेलामा भागदौड : मृतकको संख्या ३० पुग्यो, ६० जना घाइते

  बुधबार १६, माघ २०८१ २१:५०

एजेन्सी । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भमेलामा भागदौड हुँदा मृत्यु हुनेको संख्या ३० पुगेको छ । मृतकमध्ये २५ जनाको सनाखत भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

यस्तै, ६० जना घाइते भएका छन् । भागदौडपछि हराइरहेका मानिसहरूको खोजी जारी रहेको उनीहरूका आफन्तले बताएका छन् । कति मानिस हराइरहेका छन् भन्ने ‍औपचारिक विवरण हालसम्म सार्वजनिक भएको छैन । 

भागदौड भएपछि विभिन्न अखडाहरूले औँसीका दिन आयोजना गर्न लागेको विशेष स्नानको कार्यक्रम स्थगित गर्ने निर्णय गरेका थिए । तर, अपरान्ह २ बजेसम्म गङ्गा र यमुना नदीका किनारमा झन्डै पाँच करोड मानिसले स्नान गरेको जानकारी अधिकारीहरूले दिएका थिए ।

बीबीसीका अनुसार घटना भएपछि मेला लागेको ठाउँमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षाकर्मीहरूले भक्तजनलाई सङ्गमतिर नभई नदीको किनारमै स्नान गर्न आग्रह गरेका छन् ।

अधिकारीहरूका अनुसार १३ जनवरीमा कुम्भमेला सुरु भएदेखि अहिलेसम्म झन्डै २५ करोड मानिसले स्नान गरिसकेका छन् । कुम्भ मेलालाई संसारकै सबैभन्दा ठूलो भेला मानिन्छ ।  

clock बुधबार १६, माघ २०८१ २१:५०

प्रतिक्रिया