प्रतिनिधिसभा निर्वाचनः सुदूरपश्चिमको कुन जिल्लामा कति मतदाता ?
धनगढी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा कूल १७ लाख १६ हजार ६६० मतदाता कायम भएका छन्। २०७९ सालको निर्वाचनको तुलनामा प्रदेशमा मतदाताको सङ्ख्या बढेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।
हाल निर्वाचन आयोगले अद्यावधिक गरेको मतदाता नामावलीमा प्रदेशका नौ वटै जिल्लामा ४२ हजार ३१ मतदाता थपिएका प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले बताए। उनका अनुसार अघिल्लो निर्वाचनमा यस प्रदेशमा १६ लाख ७४ हजार ६२३ मतदाता थिए।
प्रदेशभरी एक हजार १७६ मतदानस्थल र दुई हजार १९९ मतदान केन्द्र कायम गरिएको प्रमुख भट्टले बताए। सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभाका लागि कैलालीमा पाँच, कञ्चनपुरमा तीन, अछाममा दुई र बाँकी जिल्लामा एकरएक निर्वाचन क्षेत्रका हिसाबले जम्मा १६ वटा निर्वाचन क्षेत्र रहेका छन्।
पुरुषभन्दा महिला मतदाता बढी
प्रदेश निर्वाचन कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार फागुन २१ गते हुने निर्वाचनमा पुरुषभन्दा महिला मतदाताको संख्या बढी छ। कुल मतदाता संख्या १७ लाख १६ हजार ६६० मध्ये महिला मतदाता ८ लाख ६४ हजार ४२३ र पुरुष मतदाता ८ लाख ५२ हजार २१९ जना छन्।
कुन जिल्लामा कति मतदाता ?
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सुदूरपश्चिमको कैलालीमा सबैभन्दा बढी ५ लाख ५१ हजार ५२ जना मतदाता छन् भने बाजुरामा सबैभन्दा कम ८७ हजार ८६१ जना मतदाता रहेको प्रदेश निर्वाचन कार्यालय धनगढीले जनाएको छ।
यस्तै, कञ्चनपुरमा तीन लाख १४ हजार ३८५, अछाममा एक लाख ६५ हजार ३३७, बैतडीमा एक लाख ५६ हजार ३७२, डोटीमा एक लाख २८ हजार ३९९, बझाङमा एक लाख २६ हजार ९०३, डडेल्धुरामा ९३ हजार ९०३ र दार्चुलामा ९२ हजार ९४८ मतदाता रहेका छन्।
प्रतिक्रिया