कांग्रेसको उम्मेदवार तय नभएपछि संसदीय समितिको निर्वाचन अनिश्चितकालका लागि स्थगित
धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको भागबन्डामा परेको विशेषाधिकार समितिको सभापति बनाउने विषयमा उम्मेदवारको टुङ्गो लगाउन नसक्दा १८ गते हुने भनिएको संसदीय समितिको निर्वाचन स्थगित गरिएको छ ।
१३ माघमा प्रदेशसभा सचिवालयले जारी गरेको सूचनाअनुसार १७ माघमा नामावली प्रकाशन, सभापति पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव दर्ता र दाबी विरोधको कार्यक्रम राखिएको थियो भने १८ माघमा सभापति चयनका लागि सम्बन्धित समितिको बैठक बस्ने जनाइएको थियो । तर, उक्त तालिकाअनुसार निर्वाचन प्रक्रिया अगाडि नबढ्ने भएको हो ।
प्रदेश सभाका सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक श्रोत समिति र सामाजिक विकास समितिको रिक्त रहेको सभापति पदको निर्वाचन तयारी गरिए पनि कांग्रेसले आफ्नो भागमा पाएको विशेषाधिकार समितिको पनि निर्वाचन एकै दिन गर्नेगरि निर्वाचन प्रक्रिया स्थगित गर्न आग्रह गरेको थियो ।
प्रदेश सभाको कार्य व्यवस्था परामर्श समितिमा मंगलवार कांग्रेस प्रमुख सचेतक विक्रमसिंह धामीले एक साता पछि धकेल्ने गरी समितिको निर्वाचनको कार्यसूची जारी गर्न सभामुख भीम भण्डारीलाई आग्रह गरेका थिए ।
‘पूर्व निर्धारित मिति भन्दा केही पछि निर्वाचन प्रक्रिया सुरु गर्न आग्रह गर्छु ’ धामीले बैठकमा भने ‘मुख्यमन्त्री ज्यूले पनि आवश्यक तयारीको लागि भन्दै केही समय पछिको सूचना जारी गर्न आग्रह गर्नु भएको छ । ’ कांग्रेसका प्रमुख सचेतकले १८ गतेको निर्वाचन स्थगित गर्न आग्रह गर्न नभ्याउँदै माओवादी संसदीय दलका उपनेता अक्कल रावलले त्यसो गर्न नहुने भन्दै कड्किएका थिए ।
‘सभामुखले निर्वाचनको कार्य तालिका सार्वजनिक गरिसक्नु भएको छ । अब मिति सार्न हुँदैन । तोकिएकै मितिमा निर्वाचन हुनुपर्छ ’ उनले बैठकमा भने ।
विधायन तथा प्रदेश मामिला समितिका सभापति देवानसिंह विष्ट पनि कार्य व्यवस्था परामर्श समितिको बैठकमा थिए । उनी कांग्रेसका सांसद हुन् । कांग्रेसका प्रमुख सचेतकले निर्वाचनको मिति पछि धकेल्न गरेको आग्रह विपरीत विष्टले पनि तोकिएकै समयमा निर्वाचन गर्नुपर्ने सुझाव दिएका थिए ।
राप्रपा सांसद खेमादेवी विष्टले पनि प्रदेश सभा सचिवालयले निर्वाचनको सबै तयारी पुरा गरिसकेको भन्दै अब मिति सार्न नहुने बताएकी थिइन् । एमालेका प्रमुख सचेतक चक्र मल्ले आफ्नो प्रस्ट धारण नराखे पनि सत्ता गठबन्धनमा रहेको भन्दै कांग्रेसले निर्वाचन सार्न गरेको अनुरोधलाई नै समर्थन गरेका थिए ।
‘मुख्यमन्त्री ज्यूकै सुझावमा मिति कम्तीमा एक साता पछि धकेल्न आग्रह गरेको हुँ’ कांग्रेस प्रमुख सचेतक धामीले सभामुख भण्डारीलाई बुझाइरहेका थिए । दोस्रो पटक तोकिएको मितिमा पनि निर्वाचन नहुने देखेपछि सभामुख भण्डारी पनि अन्योलमा परेका थिए । उनी मिति पछि धकेल्ने मुडमा थिएनन् । तर, मुख्यमन्त्रीबाटै आग्रह गरेको विषय प्रमुख सचेतकले सुनाए पनि मौन रहे ।
‘संसद् सभामुखबाट चल्ने हो । मुख्यमन्त्रीसँग सल्लाह गरेरै १८ गते निर्वाचन गर्ने मिति तय भएको हो’ माओवादीका उपनेता रावलले कड्किँदै भने, ‘तोकिएकै मितिमा निर्वाचन नगर्ने हो र मिति सार्ने निर्णय गर्ने हो भने म नोट अफ डिसेन्ट लेख्छु । ’
रावलले निर्णयमा नोट अफ डिसेन्ट लेख्ने बताएपछि सभामुख भण्डारीले त्यसो नगर्न आग्रह गर्दै सबैले दिएको सुझावको आधारमा अगाडी बढ्नु पर्ने बताएका थिए । अन्तिममा २८ गते भित्र अर्को मिति नसार्ने गरी निर्वाचन गर्ने सहमति भएको थियो । तर, निर्णय भने गरिएन ।
सभापतिको सकसले निर्वाचन स्थगित
सुदूरपश्चिम ११ पुसमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबिच विषयगत समितिको सभापतिमा भागबन्डा भएको थियो । उक्त भागबन्डाका आधारमा नागरिक उन्मुक्ति पार्टीलाई अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समिति, एमालेले सामाजिक विकास समिति, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलाई सार्वजनिक लेखा समिति र नेपाली कांग्रेसलाई विशेष समितिका सभापति लिनेछ ।
अहिलेसम्म विशेषाधिकार समिति बाहेकका अन्य तीन समितिमा तीन दलले आफ्ना उम्मेदवार करिब टुङ्गो लगाइसकेका छन् ।विशेषाधिकार समितिमा सभापति बनाउने गरी कांग्रेसले मधु भारती र तुलसी देवकोटाको नाम सिफारिस गरेको थियो । अहिलेसम्म पनि ती दुई मध्ये को सभापति बन्ने भन्ने विषय टुङ्गो नलाग्दा निर्धारित समयमा निर्वाचन हुन नसकेको कांग्रेस नेताहरूको दाबी छ ।
सुदूरपश्चिममा एउटा समितिको सभापति महिला चाहिने भन्दै कांग्रेसका महिला सांसदले विशेषाधिकार समितिमा भारतीलाई सभापति बनाउने सहमति गरेका थिए । तर, केन्द्रबाट अहिलेसम्म भारतीलाई सभापति बनाउने गरी कुनै ग्रिन सिग्नल आएको छैन ।
‘हामीले उहाँ (मधु भारती) को नाममा सहमति गरेका थियौँ तर, केन्द्रबाट उहाँलाई सभापति बनाउने गरी कुनै तयारी भएको देखिएको छैन ’ कांग्रेस एक सांसदले भनिन्, ‘ सल्लाह नगरी तपाईँहरूले किन उम्मेदवारी तय गर्नु भएको भन्दै उल्टै जवाफ दिनु पर्ने अवस्था आयो ।’
भारती रमेश लेखक निकट नेता हुन् भने देवकोटा एनपी साउद र आरजू राणा निकट मानिन्छन् । अहिले यी दुई मध्ये कसलाई सभापति बनाउने भन्ने विषयमा केन्द्रमा कुनै सहमति नभएको उनीहरू निकट नेताहरू बताउँछन् । केन्द्रबाट भारती र देवकोटा मध्ये एकको नाम आए लगत्तै समितिले नेतृत्व पाउने कांग्रेस नेताहरूको दाबी छ ।
प्रतिक्रिया