सुदूरपश्चिमको संसदले १८ माघमा विषयगत समितिका सभापतिको चुनाव गर्ने

  सोमबार १४, माघ २०८१ ०७:२३

धनगढी । सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिका सभापति चयन गर्न प्रदेश सभा सचिवालयले प्रक्रिया अघि बढाएको छ । सचिवालयले आइतबार सूचना जारी गर्दै १८ माघमा रिक्त रहेका समितिहरुमा सभापति पदको निर्वाचनका लागि प्रक्रिया थालिएको जनाएको छ ।

प्रदेश सभा सचिवालयले जारी गरेको सूचनाअनुसार १७ माघमा नामावली प्रकाशन, सभापति पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव दर्ता र दाबी विरोधको कार्यक्रम राखिएको उल्लेख गरिएको छ ।

१८ माघमा सभापति चयनका लागि सम्बन्धीत समितिको बैठक बस्ने जनाइएको छ । प्रदेश सभा सचिवालयकाअनुसार सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक श्रोत समिति र सामाजिक विकास समितिको रिक्त रहेको सभापति पदका लागि निर्वाचन हुुनेछ ।

सुदूरपश्चिम ११ पुसमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच विषयगत समितिको सभापतिमा भागबण्डा भएको थियो । भागबण्डाअनुसार सत्तारुढ नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले एउटा÷एउटा समितिको सभापति लिनेछन् ।

उक्त भागबण्डाका आधारमा नागरिक उन्मुक्ति पार्टीलाई अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समिति, एमालेले सामाजिक विकास समिति, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलाई सार्वजनिक लेखा समिति र नेपाली कांग्रेसलाई विशेष समितिका सभापति लिनेछ ।

दुई दलले आवश्यकता र औचित्यका आधारमा अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समितिलाई विभाजन गर्ने प्रक्रिया अघि बढाउने सहमति समेत गरेका थिए ।

clock सोमबार १४, माघ २०८१ ०७:२३

प्रतिक्रिया