सुदूरपश्चिम प्रदेशमै पहिलो महिला ‘ड्राइभर’ सम्मानित
बैतडी । सुदूरपश्चिम प्रदेशमै पहिलो पटक सार्वजनिक यातायातका लागि जिप चलाउँदै आउनुभएका बैतडीकी २० वर्षीय रविना चन्द (रुबी) लाई सम्मान गरिएको छ । पञ्चेश्वर गाउँपालिका–४, बैतडीका रुबीलाई बिहीबार कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटी र उपप्रमुख नीलम लेखक जोशीले दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो । उहाँलार्ई कञ्चनपुरस्थित नेपाल यातायात मजदुर सङ्घले पनि सम्मान गरेको छ ।
रुबीले चलाउँदै आएको म। १ ज ३३३ नम्बरको सार्वजनिक बोलेरो (जिप) पछिल्लो समय पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका हुँदै प्रदेश राजधानी कैलालीको धनगढीसम्म यात्रु बोकेर हिँड्ने गरेको छ । महिलाले जिप हाँकेको देख्दा सर्वसाधारण मात्रै होइन, ट्राफिक प्रहरीसमेत सवारीचालक अनुमतिपत्र हेरेपछि मात्रै पत्याउने गरेका थिए । रुबीले अनुभूति सुनाउँदै भन्नुभयो, “गएको कात्तिकमा पहिलो पटक गोरखापत्रमा समाचार प्रकाशित भएपछि आफ्नो परिचय फराकिलो बन्यो । सबैले चिने । गोरखापत्रलाई धन्यवाद दिन्छु ।”
समाचार नआउँदासम्म गाउँका थोरै मानिसले चिन्थे, गाडीमा बस्ने अधिकांश सर्वसाधारणले चालक खोइ भन्थे, अहिले त्यो अवस्था नरहेको उहाँले बताउनुभयो । बैतडीबाट प्रदेश राजधानी धनगढी जाँदा बाटोमा सवारी चेकजाँच गर्ने ट्राफिक प्रहरीले सवारीचालक अनुमतिपत्र ओल्टाइपल्टाइ हेर्न छाडेको बताउँदै उहाँले महिला पनि सार्वजनिक सवारीचालक बन्न सक्छन् भन्ने कुरा सबैले विश्वास गर्न थालेको बताउनुभयो । पञ्चेश्वरस्थित नवप्रभात संयुक्त क्याम्पसमा स्नातक तह पहिलो वर्षमा अध्ययनरत रुबीले सम्मान ग्रहणपछि हौसला बढेको बताउनुभयो ।
रविना यसरी बन्नुभयो ‘ड्राइभर’
रुबी छ दिदीबहिनीमध्येकी माहिली हुनुहुन्छ । स्वदेशमा रोजगारी नपाउँदा जेठी दिदी मञ्जु चन्द वैदेशिक रोजगारीका क्रममा साउदीमा हुनुहुन्छ । आमा यशोदा चन्द र बुवा डबलबहादुर चन्द गाउँमै किराना पसल चलाएर बस्नुभएको छ ।
रोजगारी खोज्न विदेश जानुभन्दा स्वदेशमै केही गरेर देखाउने अठोट लिएपछि बुवाआमाले पैसाको जोहो गरेर बोलेरो जिप किनिदिएको उहाँले बताउनुभयो ।
महाकाली यातायात समितिमा दर्ता गरी यात्रु बोक्ने बोलेर जिपको अहिले रविना चन्द लोकप्रिय चालक बन्नुभएको छ । छोरीले गाडी चलाउने सपना देखेपछि जिप किनिदिएको पिता बडलबहादुर चन्दले बताउनुभयो ।
प्रतिक्रिया