दार्चुलाको व्यास घोडेटो बाटो निर्माणमा नौ करोडभन्दा बढी खर्च

  शुक्रबार २६, मङि्सर २०८२ १०:३६


दार्चुला । दार्चुलाको व्यास घोडेटो बाटो निर्माणमा विगत नौ वर्षमा स्थानीय, प्रदेश र सङ्घीय सरकार गरेर कुल नौ करोड ३० लाख ५६ हजार ३७२ रुपियाँ खर्च भएको छ । दार्चुला जिल्ला सदरमुकाम खलङ्गाबाट भारतको सीमानजिक पर्ने नेपालको गाउँ छाङरु र चीनको ताक्लाकोटनजिकको गाउँ तिङ्कर पुग्ने व्यास घोडेटो बाटो निर्माणमा आर्थिक वर्ष २०७४/७५ देखि हालसम्म सो रकम खर्च भएको हो । व्यास गाउँपालिकाका तत्कालीन प्रशासन सहायक दीपक खातीले विभिन्न आवमा करिब २९ किलोमिटर घोडेटो बाटो निर्माणमा सो रुपियाँ खर्च भएको बताउनुभयो ।

उहाँका अनुसार आव २०७४/७५ मा व्यास गाउँपालिकाबाट घोडेटो बाटो निर्माणका लागि २५ लाख रुपियाँ खर्च गरिएको छ भने आव २०६८/६९ मा अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयबाट सर्वदलीय भागबन्डामार्फत २० लाख रुपियाँ खर्च गरिएको छ । ठुलो रकम खर्च गरेर हाल मानिस मात्रै हिँड्न सक्ने बाटो निर्माण गरिएको छ ।

आव २०७७/७८ मा सुदूरपश्चिम प्रदेश सरकारको एक करोड आठ लाख ३२ हजार रुपियाँ बजेटमार्फत नेपाली सेनाले व्यास गाउँपालिका–२ को घाँटीबगड–तम्बाकु क्षेत्रको मौराभिरमा चट्टान फुटाएर ५५० मिटर बाटो निर्माण गरेको थियो । त्यतिबेला सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री त्रिलोचन भट्टले बाटोको उद्घाटन गर्नुभएको थियो । आव २०७६र७७ मा सुदूरपश्चिम प्रदेश सरकारले पुनः बाटो निर्माणका लागि भन्दै व्यास गाउँपालिकालाई ३० लाख बजेट उपलब्ध गराएको थियो । 

यस्तै आव २०७७/७८ मा दुम्लिङदेखि छाङरुको गागासम्मको २९ किलोमिटर बाटो निर्माणका लागि सङ्घीय सरकारले तीन करोड ३२ लाख ७१ हजार ७११ रुपियाँ ७७ पैसामा निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । सो रकममा ४९ घनमिटर मेसिनरी पर्खाल, २३६ घनमिटर ढुङ्गाको पर्खाल, ५५४ घनमिटर ग्याबिन, तारजाली निर्माण र चार हजार पाँच सय घनमिटर माटो खन्ने कार्य गरेको बताइन्छ । 

आव २०७९/८० मा बाटो निर्माणका लागि स्थानीय व्यास गाउँपालिकाले नेपाल सरकारबाट बहुवर्षीय योजनामा छ करोड रुपियाँ विशेष अनुदान प्राप्त गरेकोमा दुई करोड ४८ लाख ५६ हजार ७४६ रुपियाँमा व्यास गाउँपालिका–२ को कल्जुखोला, वडा नं. १ को अपिखोला र तिङ्करखोलाको राकाङमा तीन वटा काठेपुल निर्माण गरेर एक करोड ८७ लाख २४ हजार ३७२ रुपियाँ भुक्तानी भएको उहाँले बताउनुभयो । पछिल्लो समय आव २०८१/८२ मा सङ्घीय सरकारको पाँच करोड तथा आव २०८२/८३ मा व्यास गाउँपालिकाको ५० लाख रुपियाँ खर्च गरेर व्यास घोडेटो बाटो निर्माण गरिएको छ ।     

clock शुक्रबार २६, मङि्सर २०८२ १०:३६

प्रतिक्रिया