शुक्लाफाँटा –१० का वडाध्यक्ष आफैंले कार्यालय परिसरमा सजाए फूलबारी
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० वडा कार्यालयको चारैतिर सजाइएका गमलामा फूल फूलेका छन्। हेर्दै आकर्षक देखिने कार्यालय परिसरमा बिहानै फूलबारी गोडमेल गर्दै, गमलाका फूलमा पानी हाल्दै गरेको अवस्थामा वडाध्यक्ष लालबहादुर ऐर भेटिन्छन्।
कार्यालयबाहेकको समय वडाध्यक्ष ऐरले फूलबारीको रेखदेखमा व्यस्त हुन्छन्। एक वर्षदेखि उनले फूल गोडमेल गर्ने, सिँचाइ गर्ने, बारी बनाउनेलगायत काम आफैँले गर्दै आएका हुन्। उनले कार्यालयमा कर्मचारी आउनु पहिले नै फूलमा पानी हाल्ने, सडक क्षेत्र सरसफाइ गर्नेलगायत काम आफैँले गर्ने गरेका छन्।
आफूले पाउने केही पारिश्रमिक छुट्याएर कार्यालयलाई आकर्षक बनाउन लागेको वडाध्यक्ष ऐरले बताए। कार्यालयमा आउने सेवाग्राहीले पालो पर्खंदा फूलसँग रमाउने बताउदै यसले सेवाग्राहीलाई आनन्दित बनाएको जानकारी उनले दिए।
‘फूलबारी निर्माणले कार्यालयको सौन्दर्यता बढाउनुका साथै सेवाग्राहीले पालो कुरिरहँदा पनि फोटो खिच्ने, टिकटिक बनाउनेलगायत गतिविधिमा संलग्न भएर आनन्द अनुभूति गरिरहनुभएका पाएका छौँ’, वडाध्यक्ष ऐरले भने, ‘यसले वातावरण स्वच्छ राख्न मद्दत पनि गरिरहेको छ।’ फूलबारी बनाउने कामले समाजमा सकारात्मक सन्देश जानुका साथै अरुले पनि यसको अनुसरण गरेर घरघर सजावट गर्न प्रेरणा मिल्ने उनले विश्वास व्यक्त गरे।
कार्यालयको काम नहुँदा पसल, चोक, चौराहमा अनावश्यक गाफमा भुल्नुभन्दा परिसरमा रहेको बाँझो जमिनको उपयोग गरी फूलका बिरुवा रोपेर हराभरा बनाउनेतर्फ जुटेको वडाध्यक्ष ऐरले बताए। बारीमा स्थानीय प्रजातिका साथै बाहिरबाट मगाएर एक सय बढी प्रजातिका बिरुवा रोपेको उनले जानकारी दिए। गाउँमा अन्यत्र नपाइने प्रजातिका फूल वडा कार्यालयको बारीमा फूलेका स्थानीय सुरेश भट्टले बताए।
                    
                                
                        
                                        
                                        
                                            
                                            
                                            
                                            
                                    
                                    
                                    
                                    
                                    
                                            
                        
                        
                        
                        
                        
                        
                        
प्रतिक्रिया