गाजामा युद्धविराम : पहिलो चरणमा रिहा हुने सूचीमा परेनन् विपिन

  सोमबार ०७, माघ २०८१ ०७:३९

काठमाडौँ । प्यालेस्टिनी समूह हमासले पहिलो चरणमा रिहा गर्ने बन्धकको सूची दिएसँगै गाजामा युद्धविराम लागू भएको छ । इजरायली प्रधानमन्त्रीको कार्यालयले आइतबार विज्ञप्ति जारी गर्दै स्थानीय समयअनुसार बिहान ११ः१५ (नेपाली समयअनुसार ३ः००) बजेदेखि युद्धविराम लागू भएको जनाएको हो । 


हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशी युद्धविरामको पहिलो चरणमा नछुट्ने भएका छन् । हमासले युद्धविरामको पहिलो चरणमा रिहा हुने ३३ बन्धकहरूको सूची दिएपछि इजरायलले सार्वजनिक गरेको छ । सार्वजनिक सूचीमा विपिनको नाम भने समावेश छैन । ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका विपिनलाई हमासले सन् २०२३ अक्टोबर ७ मा अलुमिम किबुजबाट बन्धक बनाएको थियो ।

युद्धविराम भएको पहिलो दिन आइतबार तीन बन्धक रिहा भएका छन् । डोरोन स्टेनब्रेचर, एमिली डमारी र रोमी गोनेन आइतबार साँझ रिहा भएका हुन् । उनीहरू तीनै जनालाई रेडक्रसको टोलीले गाजाबाट इजरायल ल्याएको हो । इजरायलका अनुसार उनीहरू तीनै जना २०२३ अक्टोबर ७ देखि हमासको नियन्त्रणमा थिए । इजरायलले पनि महिला र बालबालिकासहित ९० जना प्यालेस्टिनी कैदीहरू रिहा गरेको छ ।

कतारसहित अमेरिका र इजिप्टको मध्यस्थतामा इजरायल र हमासबीच युद्धविराम सम्झौता भएको हो । युद्धविरामको दोस्रो र तेस्रो चरणको कार्यान्वयनका विषयमा पहिलो चरणको १६ औं दिनदेखि थप छलफल गरिने सम्झौतामा उल्लेख छ । सम्झौताअनुसार दोस्रो चरणमा गाजाबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता हुने र त्यसको सट्टा हमासले सैनिकलगायत

थप बन्दी रिहा गर्नेछ । तेस्रो चरणमा अन्तर्राष्ट्रिय पर्यवेक्षणमा गाजामा गरिने ३ देखि ५ वर्षे पुनर्निर्माण योजनाको बदलामा हमासले बाँकी बन्धक वा शव फिर्ता गर्ने जनाइएको छ ।

हमासले गाजा क्षेत्रको युद्धविराममा ढिलाइ गरेको भन्दै इजरायलले आइतबार बिहान गाजामा आक्रमणसमेत गरेको थियो । आक्रमणमा कम्तीमा १९ जनाको ज्यान गएको र २५ जनाभन्दा बढी घाइते भएका सीएनएनले जनाएको छ । ६ साता लामो युद्धविरामका क्रममा हमासले ३३ जना रिहा गर्ने सम्झौतामा उल्लेख छ । युद्धविराम सुरु भएसँगै आन्तरिक रूपमा विस्थापित हजारौं गाजावासीहरू आफ्नो घर फर्कन थालेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरहरूमा कपडा तथा अन्य सामान बोकेका मानिसहरू घर फर्कंदै गरेका लामो लाइन देखिएको छ । त्यस्तै, प्यालेस्टिनी झण्डा बोकेका मानिसहरूले भरिएका कार तथा सवारीसाधनहरू देखिएका छन् । संयुक्त राष्ट्रसंघीय प्यालेस्टिनी शरणार्थी संस्थाले खाद्यान्न र पीठोले भरिएका हजारौं ट्रकहरू गाजा प्रवेश गर्न पर्खिरहेको जनाएको छ । ‘गाजामा प्रवेश गर्नका लागि सहायता सामग्री बोकेका ४ हजार ट्रकहरू तयार छन् । तीमध्ये आधाले खाना र पीठो बोकेका छन्,’ संस्थाले भनेको छ ।

युद्धविराम लागू भएसँगै इजरायलको अति दक्षिणपन्थी यहुदी पावर पार्टी बेन्जामिन नेतान्याहु नेतृत्वको गठबन्धन सरकारबाट अलग भएको छ । उक्त दल गठबन्धन सरकारबाट अलग भएसँगै नेतान्याहु सरकारको झिनो बहुमत बाँकी छ । दलका तर्फबाट राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन–गभिरसँगै विकासमन्त्री यित्जाक वासेरलाउफ र सम्पदामन्त्री अमिचाई इलियाहुले पनि राजीनामा दिएका छन् ।

गभिरले हमाससँगको युद्धविरामलाई ‘आतंकवादको विजय’ भन्दै राजीनामा दिएका हुन् । त्यस्तै, रिलिजियस जियोनिस्ट पार्टीका प्रमुख तथा अर्थमन्त्री बेजलेल स्मोट्रिचले पनि युद्धविराम सम्झौताप्रति असहमति जनाएका छन् । गाजा युद्धविराम हमाससँगको आत्मसमर्पण र गम्भीर गल्ती भएको जनाउँदै उनले सरकार छाड्ने धम्की दिएका छन् ।

हमासले इजरायलमा गरेको आक्रमणपछि विपिनसहित २ सय ५१ जनालाई बन्धक बनाएर लगेको थियो । तीमध्ये नेपालका विपिनका साथै तान्जानियाका १, थाइल्यान्डका ८ र इजरायलका ८४ सहित ९४ जना अझै हमासको नियन्त्रणमा छन् । हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणमा इजरायलमा १२ सयको ज्यान गएको थियो ।

त्यसलगत्तै हमास र इजरायलबीच युद्ध चर्किएको हो । गाजास्थित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ यताको युद्धमा ४६ हजार ९ सय प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन् । तीमध्ये एक तिहाइभन्दा बढी बालबालिका छन् । इजरायलतर्फ १४ सयभन्दा बढीको ज्यान गएको छ ।

clock सोमबार ०७, माघ २०८१ ०७:३९

प्रतिक्रिया