मातृभूमि जागरण अभियानले देशव्यापी रूप लिए पार्टी बन्छ : भीम रावल
धनगढी । मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले मातृभूमि जागरण अभियानले देशव्यापी रूप लिए पार्टी खोल्ने बताएका छन् । शुक्रवार धनगढी विमानस्थलमा सञ्चारकर्मीहरू सँग कुराकानी गर्दै उनले हाल ‘मातृभूमि जागरण अभियान नेपाल’ अभियान कै क्रममा देश दौडाहामा रहेको बताए ।
‘देशको अहिलेको अवस्था परिवर्तनका लागि अरू धेरै मानिसहरूले हातेमालो गरेर अगाडि बढ्नुपर्ने हुन्छ’ उनले भने ‘त्यति बेला त्यसलाई अझ परिमार्जित गरेर जे जस्तो आवश्यक हुन्छ, त्यो रूपमा ल्याउन तयार छौँ ।’ उनले अहिले नै पार्टी घोषणाको चरणमा नपुगेको बताए । उनले आफूले सुरु गरेको अभियानले कालान्तरमा ठुलो रूप लिने विश्वास व्यक्त गरे ।
उनले राजावादीसँग साँठगाँठ गरेको कुरामा सत्यता नभएको बताए । उनले भने, ‘नेपालमा विभिन्न समूहहरू छन् । नागरिक, बुद्धिजीवी, राजनीतिक दलसँग आबद्ध व्यक्तिहरू छन् । उहाँहरूसँग छलफल गरेर अघि बढ्छु । मैले भनेकै हुनुपर्छ भन्ने छैन । सबैसँग छलफल गरेर नै अघि बढ्ने हो । हामीले आफ्नो नीतिसहित अभियान सुरु गरेका छौँ । अब छलफलको क्रममा सबैसँग हामी खुला छौँ ।’
उनले ठुला राजनीतिक दल गन्तव्यहीन, आदर्शहीन र सिद्धान्तहीन भएको आरोप लगाउँदै राष्ट्र र राष्ट्रियता जोगाउन सबै एक हुनुपर्ने धारणा राखे । ‘देश र जनताका लागि जोजो छन्, इमानदार देशभक्तहरू हामी एक ठाउँमा आउँछौँ भन्नेमा मेरो विश्वास छ,’ उनले भने ।
                    
                                
                        
                                        
                                        
                                            
                                            
                                            
                                            
                                    
                                    
                                    
                                    
                                    
                                            
                        
                        
                        
                        
                        
                        
                        
प्रतिक्रिया