कञ्चनपुरमा नेपाली भूमि भारतीयले भोगचलन गरेकोबारे सांसदले गृहमन्त्रीलाई सोधे प्रश्न

  सोमबार २२, पुष २०८१ १७:२२

काठमाडौँ । नेपालको भूमि भारतीय नागरिकले भोगचलन गरिरहेको सम्बन्धमा सांसदहरूले गृहमन्त्रीलाई प्रश्न गरेका छन् । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडू र एमाले सांसद रघुजी पन्तले कञ्चनपुरमा नेपाली भूमि भारतीयले भोगचलन गरेको विषयमा गृहमन्त्री रमेश लेखकलाई प्रश्न गरेका हुन् । 

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको करिब ९ सय बिघा वनक्षेत्र भारतीय नागरिकले खेतिपाती गरेको विषयमा कान्तिपुरलगायतका सञ्चारमाध्यममा आएको भन्दै त्यस विषयमा सरकारले के गरिरहेको छ रु भनेर पन्तले प्रश्न गरेका छन् ।

गृहमन्त्री लेखककै निर्वाचन क्षेत्रसमेत रहेको क्षेत्रमा भारतीयले नेपालको भूमि भोगचलन गरेको विषयमा त्यहाँ स्थानीय प्रशासनदेखि सरकारले के गरिरहेको छ र त्यसको वास्तविकता के हो भनेर सांसद पन्तले प्रश्न गरेका हुन ।

'कञ्चनपुमा ९ सय बिघा भन्दा बढी जग्गा भारतीयले भोगचलन गरिरहेको भन्ने कान्तिपुर दैनिक लगायतका सञ्चारमाध्यममा आएको छ । भारतीयहरूले भोगचलन गरिरहेको विषयमा सरकारले के गरिरहेको छ । गृहमन्त्रीको निर्वाचन क्षेत्रसमेत रहेको र सीमा विवाद नभएको हुनाले त्यस विषयमा गृहमन्त्रीको ध्यानाकर्षण होस्,' पन्तले भने, 'यसमा यथाशीघ्र कदम चालियोस् र यस विषयमा गृहमन्त्रीबाट जवाफ मिलोस् ।'

सांसद पन्तले नेपालको भूमी छिमेकीले उपभोग गर्ने अवस्था अन्त्य गर्नुपर्ने बताए । 'हाम्रो भूमि छिमेकीहरूले उपभोग गर्ने नहोस्, हाम्रो जमिन हाम्रो भोगचलनमा आओस् ।'

भूमि नेपालको नक्सामा तर भोगचलन भारतले गर्ने कार्य ठीक नभएको कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले बताए । 'भूमी हाम्रो नक्सामा तर भोगचलनमा भारलते गरेको छ । यसलाई गम्भीरताका साथ हेर्नुपर्छ,' बडूले भने ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको करिब ९ सय बिघा वनक्षेत्रमा भारतीय नागरिकले खेतीपाती गरिरहेको थियो । भारत, उत्तर प्रदेशको पिलिभित जिल्लामा पर्ने गोरख डिबीसँगै जोडिएको निकुञ्जको दक्षिणी क्षेत्रमा भारतीय नागरिकले लामो समयदेखि खेतीपाती गरिरहेको सार्वजनिक भएको थियो ।

clock सोमबार २२, पुष २०८१ १७:२२

प्रतिक्रिया