एमाले र माओवादीको केन्द्रीय समिति बैठक आजदेखि, ओली र प्रचण्डले प्रतिवेदन पेस गर्ने

  आइतबार २१, पुष २०८१ ०७:५६

काठमाडौँ । सत्तारुढ नेकपा (एमाले) र प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आजदेखि बस्ने भएका छन् । मुलुकका दुई ठूला कम्युनिस्ट पार्टीहरूको केन्द्रीय कमिटी बैठक एकै दिन सुरु हुन लागेको हो ।

एमाले केन्द्रीय कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे सुरु हुनेछ । बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने भएका छन् ।

यसअघि प्रतिवेदनमाथि समूहगत छलफल हुने गरेकामा यसपटक भने प्रत्येक केन्द्रीय सदस्यलाई बेग्लाबेग्लै धारणा राख्ने व्यवस्था मिलाइएको उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए । प्रत्येक सदस्यलाई करिब तीन मिनेटको समय उपलब्ध गराउने तयारी गरिएको छ ।

बैठकको सुरुमा अध्यक्ष ओलीले पछिल्लो राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा मन्तव्य दिने तयारी छ । ओलीको राजनीतिक प्रतिवेदनमा आगामी कार्ययोजना, पार्टी सङ्गठन सुदृढीकरण, वर्तमान सरकार गठन, यसअघिका सरकारमा साझेदारी, सरकारका प्राथमिकता, संविधान संशोधन, आर्थिक सुधार, सहकारीलगायत विषय समेटिएका उपाध्यक्ष पाण्डेले बताए ।

बैठकमा केन्द्रीय सदस्य र आयोगका प्रमुखलगायत सहभागी हुनेछन् । दुई दिनभित्र बैठक सक्ने तयारी छ । यही पुस १८ मा एमाले सचिवालय बैठकले केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन पारित गरेको थियो । अध्यक्ष ओली नेतृत्वमा सरकार गठन भएपछि पहिलोपटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । संसद्को हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा बस्न लागेको बैठकले संविधान संशोधनलगायतका ‘एजेण्डा’मा ठोस धारणा तय गर्ने बताइएको छ ।

दिउँसो १ बजेदेखि पार्टी कार्यालय पेरिसडाँडामा बस्ने माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्ने छन् । बैठकमा प्रचण्डले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनका साथै साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुने उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

यसअघि बसेको स्थायी समिति बैठकले प्रचण्डबाट ‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्प स् आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस हुने टुङ्गो लगाएको थियो । बैठकको प्रारम्भमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा ‘ब्रिफिङ’ गर्ने र लगत्तै उनको प्रतिवेदनमाथि छलफल हुनेछ ।

केन्द्रीय समिति बैठक सञ्चालनको ‘मोडालिटी’ टुङ्गो लगाउन आइतबार बिहान ८ बजे स्थायी समिति बैठक बस्ने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । बैठकमा चार सय नौ पूर्ण केन्द्रीय सदस्य, दुई सय पाँच वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगबाट ७५ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका पदाधिकारी गरी एक सय २५ जनाको समेत सहभागिता रहनेछ ।

clock आइतबार २१, पुष २०८१ ०७:५६

प्रतिक्रिया