के राख्दैछन् भीम रावलले पार्टीको नाम ?
काठमाडौं । सत्तारुढ नेकपा एमालेबाट निष्काशित नेता डा. भीम रावलले आउँदो बुधबार नयाँ पार्टी घोषणा गर्दैछन् । त्यसका लागि पत्रकार सम्मेलनको तयारी गरिरहेका छन् ।
यससँगै रावलको पार्टीको नाम के रहन्छ भन्नेबारे नागरिकमा चासो जागेको छ । रावल स्वयमले भने आफ्नो पार्टीको नाम कम्युनिष्ट नरहने बताएका छन् । सोमबार सुदूरपश्चिम प्रदेशका सांसद तारा जोशीसँग भेट गरेका रावलले भनेका छन्, ‘पार्टीको नाम गैरकम्युनिष्ट रहन्छ । अब कन्युनिष्ट राखिन्न ।’
सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री समेत रहेका रावल निकट नेता कृष्णराज सुवेदी पनि पार्टीको नाम सबै अटाउने रहने बताउँछन् । ‘पार्टीको नाम सबै अटाउने रहन्छ । कम्युनिष्ट, कम्युनिष्ट मात्रै बढी भइसके । यतिका कम्युनिष्ट भएर के भएको छ र,’ सुवेदीले भने ।
त्यसो त रावलले गैरकम्युनिष्ट नेताहरूलाई पनि मिलेर जानका लागि प्रस्ताव गरिरहेका छन्। उनले नेपाली कांग्रेस बीपीका उपसभापति कर्ण मल्ललाई समेत भेटेर मिलेर जान प्रस्ताव गरेका छन् ।
सोमबार बिहान भेटेका तारा जोशी भने नेकपा (एकीकृत समाजवादी)का पूर्व केन्द्रीय सदस्य हुन् । गत निर्वाचनमा टिकट नपाएपछि स्वतन्त्र रूपमा उम्मेदवारी दिएका जोशी सुदूरपश्चिम प्रदेशमा निर्वाचित भएका हुन् ।
प्रतिक्रिया