पार्टी खोल्ने तयारीमा भीम रावल, भेटे कर्ण मल्ल र तारा जोशी
काठमाडौं । एमालेबाट निष्कासित भएपछि नयाँ पार्टी निर्माणको छलफलमा जुटेका डा. भीम रावलले राजनीतिक भेटवार्तालाई तीब्रता दिएका छन् ।
सोमबार बिहान उनले नेपाली कांग्रेस (बीपी) का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा। तारा जोशीसँग भेटवार्ता गरेका छन् । मल्ल कांग्रेस डडेल्धुराका पूर्वसभापति हुन् ।
उनीहरूबीच टोखास्थित निवासमा भेटवार्ता भएको हो । भेटवार्तामा रावलले विभिन्न पार्टीबाट अन्यायमा परेकाहरू एकठाउँमा आएर बलियो शक्ति निर्माण गर्नुपर्ने प्रस्ताव राखेको स्रोतले बतायो ।
कांग्रेस सभापति शेरबहादुर देउवासँगको सम्बन्ध बिग्रिएपछि उनी कांग्रेस बीपीतिर लागेका हुन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उनले देउवाविरुद्ध प्रतिस्पर्धा गरेका थिए ।
जोशी भने नेकपा एकीकृत समाजवादीका पूर्वकेन्द्रीय सदस्य हुन् । २०७९ को निर्वाचनमा डडेल्धुरा प्रतिनिधिसभाअन्तर्गतको प्रदेश सभा २ बाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार बनेर सुदूरपश्चिम प्रदेश सभामा निर्वाचित भएका हुन् ।
बुधबार पत्रकार सम्मेलन गर्ने
एमालेबाट निष्कासनमा परेका डा. भीम रावलले आगामी कार्य योजनाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्ने भएका छन् । आफ्ना कुरा राख्न र भावी कार्ययोजना समेत जानकारी गराउन नेता रावलले पत्रकार सम्मेलन गर्न लागेको रावलका सहयोगी गोविन्द दुवालले जानकारी दिए ।
एमालेको कारबाहीपछि नयाँ पार्टी खोल्नेबारे रावलले आन्तरिक छलफल गरिरहेका छन् । ‘बुधवार पत्रकार सम्मेलन गर्ने मोटामोटी तय भएको छ । उक्त पत्रकार सम्मेलनमा आफ्ना कुरा राख्ने र भावी कार्य योजनाका बारेमा समेत जानकारी दिने तयारी छ’, दुवालले भने, ‘ १७ गते १ बजे कार्की ब्याङकेटमा पत्रकार सम्मेलनमै नयाँ पार्टी खोल्ने नखोल्ने थाहा हुन्छ ।’
एमालेमा झण्डै पाँच दशक सक्रिय रहेका रावललाई एमालेको बुधवार बसेको सचिवालय बैठकले पार्टी सदस्यता समेत नरहने गरी निष्कासन गरेको थियो । २०७८ सालमा चितवनमा भएको दशौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका रावल त्यसयता पार्टीमा निष्किृयजस्तै बनेका थिए ।
प्रतिक्रिया