माओवादीले कञ्चनपुरमा पुस १३ गते खबरदारी सभा गर्ने
धनगढी । माओवादी केन्द्रले कञ्चनपुरमा खबरदारी सभा गर्ने भएको छ। नेकपा माओवादी केन्द्रले भ्रष्टाचार र बेथितिविरुद्ध खबरदारी सभाको आयोजना गर्ने भएको हो।
बिहीबार पत्रकार सम्मेलन गर्दै कञ्चनपुरको पुनर्वास नगरपालिकाको टाउन बजारमा पुस १३ गते सरकारको भ्रष्टाचार र बेथितिविरुद्ध व्यापक जनदबाब दिनेगरि खबरदारी सभा गर्न लागेको जनाएको छ।
सभालाई पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सुदूरपश्चिम इन्चार्ज गिरिराजमणि पोखरेलले अहिले सरकार बाहिर रहेका राजनीतिक दलमा आबद्ध व्यक्तिहरुलाई छानाछानी षड्यन्त्रपूर्वक विभिन्न खालका मुद्दा चलाइरहेको बताए।
माओवादी केन्द्र जिल्ला समन्वय समिति कञ्चनपुरले आयोजना गर्ने सभालाईलाई माओवादीले शक्ति प्रदर्शनका रुपमा लिएको छ। उक्त सभामा २० हजारभन्दा बढी मानिस उर्ताने माओवादीको दाबी छ।
उक्त कार्यक्रममा ठूलो संख्यामा पार्टी प्रवेश तथा समायोजनको कार्यक्रम पनि राखिएको प्रदेश सभा सदस्य समेत रहेका प्रचार तथा प्रकाशन विभाग प्रमुख ओम विक्रम भाट सरलले बताए।
प्रतिक्रिया