सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनमा ५ वर्षपछि हेरफेरको प्रस्ताव

  बिहिबार ११, पुष २०८१ १४:२१

धनगढी । २०७६ सालमा पारित भइसकेको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनमा ५ वर्षपछि व्यापक हेरफेरको प्रस्ताव गरिएको छ । उक्त ऐन २०७७ असार ११ गते प्रमाणीकरण गरिएको थियो । मुख्यमन्त्री प्रतिष्ठानको कुलपति र सामाजिक विकास मन्त्री सहकुलपति रहने सरकारको व्यवस्थालाई सामाजिक विकास समितिले व्यापक संशोधन गरेको हो । अब मुख्यमन्त्री र सामाजिक विकास मन्त्री कुलपति र उपकुलपति हुने छैनन् । समितिले पास गरेको प्रतिवेदनमा मुख्यमन्त्रीलाई प्रमुख संरक्षक र सामाजिक विकास मन्त्रीलाई संरक्षकको जिम्मेवारी दिइएको छ ।

प्रज्ञा प्रतिष्ठानमा कुलपति रहने र कुलपति नै प्रतिष्ठानको प्रमुख पदाधिकारी रहने व्यवस्था समितिले पास गरेको छ । यस अघि उपकुलपतिलाई प्रमुख रूपमा कानुनमा चित्रण गरिएको थियो । यस अघि सामाजिक विकास मन्त्री सहकुलपति रहेको समितिले उपकुलपति नियुक्त गर्ने व्यवस्था रहेको थियो। त्यसमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय र सामाजिक विकास मन्त्रालयको सचिव सदस्य रहने व्यवस्था थियो ।

समितिले सामाजिक विकास मन्त्री नै अध्यक्ष रहेको छनोट समितिको सदस्यमा भने दुई सचिवको ठाउँमा भाषा साहित्य, लोक साहित्य, संस्कृति, ललितकला नाट्यकला, सङ्गीतको क्षेत्रमा ख्यातिप्राप्त व्यक्तिमध्येबाट मुख्यमन्त्रीले तोकेका २ जना सदस्य रहने छन् ।

समितिले प्रतिष्ठान समावेशी बनाउन कुलपति वा उपकुलपति मध्ये एक जना महिला अनिवार्य गराएको छ । यो सरकारले बनाएको ऐनमा थिएन । अघिल्लो प्रदेश सभाले पारित गरिसकेको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनमा वर्तमान सरकारले केही संशोधन गर्ने तयारी गरेको थियो ।

अघिल्लो माघ १७ गते आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभा दर्ता गराएको थियो । माघ २२ प्रदेश सभामा प्रदेश सभामा प्रस्तुत भएको उक्त संशोधन विधेयकमा २३गते सामान्य छलफल पछि फागुन १६ गते दफावार छलफलको लागि सामाजिक विकास समितिमा पठाइएको थियो ।

तत्कालीन अवस्थामा शिवराज भट्ट आन्तरिक मामिला मन्त्री हुँदा ल्याएको संशोधनको खाकामा भट्ट नै ज्येष्ठ सदस्यको हैसियतले सामाजिक विकास समितिको नेतृत्व गर्दा व्यापक हेरफेर गरेका छन् । ‘हामीले धेरै छलफल र परामर्शपछि ऐनमा संशोधन गरेका हौँ’ ज्येष्ठ सदस्य भट्टले भने ।

‘तपाइनै मन्त्री हुँदा ल्याएको संशोधनमा पनि धेरै संशोधन गर्नु भयो नि रु ’ प्रश्नमा समितिको नेतृत्व गरेका भट्ट भन्छन्, ‘हामीलाई त्यो अधिकार छ ।सरकारले ल्याएको विषयमा पनि समितिले हेरफेर गर्न सक्छ ।’

संशोधनसहितको प्रतिवेदन प्रदेश सभा सचिवालयमा दर्ता भइसकेको छ । अबको बैठकमा उक्त विधेयक पेश हुने छ । सरकारले ल्याएको ऐन भन्दा समितिले गरेको संशोधन उपयुक्त गरेको साहित्यकार तथा प्राज्ञिक व्यक्तित्वहरूको भनाइ छ ।

‘पहिले मुख्यमन्त्री र मन्त्री नै हाबी हुने जस्तो प्रतिष्ठान थियो । त्यसले प्राज्ञ व्यक्तित्वहरूको विषय समेट्न सकेको थिएन’ नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभा सदस्य जनक रसिदले भने, ‘छनोट समितिदेखि कुलपति उपकुलपतिसम्मको व्यवस्था हेरफेर भएको हो भने त्यो राम्रो भयो ।’

clock बिहिबार ११, पुष २०८१ १४:२१

प्रतिक्रिया