एमालेले संगठित सदस्यसमेत नहरने गरी कारबाही गरेपछि के भन्छन् भीम रावल

  बुधबार १०, पुष २०८१ २१:२४

काठमाडौँ । एमाले केन्द्रीय सचिवालय बैठकले पार्टीको नीतिविपरित अभिव्यक्ति दिएको भन्दै संगठित सदस्यसमेत नहरने गरी पूर्वउपाध्यक्ष भीम रावललाई कारबाही गरेको छ । कारबाहीपछि रावलले यसलाई अध्यक्ष केपी शर्मा ओलीको निरंकुश कदम भएको आरोप लगाएका छन् । यस विषयमा रावलसँग गरिएको संक्षिप्त कुराकानी ।

तपाईँलाई पार्टी नीतिविपरीत अभिव्यक्ति दिएको भन्दै सोधेको स्पष्टीकरणको जवाफ नै नदिई कारबाही किन भयो ?

म एमालेको १० औं महाधिवेशनमा अध्यक्षको उम्मेदवार भएपछि मेरा आवाज दबाउने कोसिस भइरहेको थियो । त्यही श्रृंखलाअन्तर्गत देश र जनताको पक्षमा उठाएका आवाजलाई दबाउन कात्तिक ४ मा कथित स्पष्टीकरण सोधियो । निरंकुश शैलीमा सोधिएको कथित स्पष्टीकरणको जवाफ दिन मैले उचित ठानिनँ । कारबाहीको यो कदम सरकार र पार्टीमा तानाशाही लाद्न गरिएको हो ।

तपाईंले पार्टीलाई हानि पुर्‍याउने गतिविधि गरेकाले कारबाही गरिएको भनिएको छ नि ?

मैले विगतदेखि नै देश, जनता र पार्टीको पक्षमा आवाज उठाएँ । कम्युनिस्ट पार्टी जनताद्वारा निर्देशित हुनुपर्छ । केपी ओलीका शैली कम्युनिस्ट पार्टीको नीतिविपरीत थिए । उनका कदमहरु देशभक्तिपूर्ण थिएनन् । यो कारबाहीले मेरो देश र जनताप्रतिका अडानमा कत्ति पनि यताउता हुने छैनन् ।

एमालेका इमानदार कार्यकर्ताहरु न्याय समानताको पक्षमा उभिने भएकाले मलाई समर्थन हुने विश्वास छ । यो केपी ओलीको निरंकुश, स्वेच्छाचारी, तानाशाही प्रवृत्ति हो । देश र जनतको पक्षमा, नेपालको संविधानको पक्षमा उठेका आवाज दमन गर्ने । यस्तो कारबाहीबाट अरुलाई तर्साउन गरिएको हो । पार्टी र सरकारमा मनपरि गर्नका लागि कारबाही प्रेरित छ ।

अब तपाईँको राजनीतिक बाटो के हुन्छ ?

तत्कालै केही सोच्ने कुरा छैन । मैले पाँच दशकदेखि उठाएको स्वाभिमानको झन्डा झुक्न दिनेछैन । सबैका सुझाव, सल्लाह र धारणालाई सम्मान गरेर मेरा पाइला अघि बढ्ने छन् । कान्तिपुरबाट

clock बुधबार १०, पुष २०८१ २१:२४

प्रतिक्रिया