शैक्षिक क्षेत्रको विकासका लागि सुधारका कार्य आवश्यक : मुख्यमन्त्री शाह

  बुधबार १०, पुष २०८१ ०७:३२
शैक्षिक महोत्सव उद्घाटनको क्रममा शुभकामना मन्तव्य राख्नुहुँदै मुख्यमन्त्री कमलबहादुर शाह ।

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शैक्षिक क्षेत्रको विकासका लागि सुधारका धेरै कार्य अगाडि बढाउन आवश्यक रहेको बताएका छन् ।

धनगढीमा मङ्गलबारबाट सुरु भएको नवौं बृहत् राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवको उद्घाटन गर्दै उनले शिक्षामा सुधारको धेरै काम गर्न आवश्यक रहेको औंल्याएका हुन् ।

मुख्यमन्त्रीले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरूले जनताले अझ बढी मर्यादित र सहज रूपमा शिक्षा प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्न जरुरी रहेको उल्लेख गरे । उनले जनताकोबिचमा सहज तरिकाले शिक्षाको पहुँच पुर्‍याउनका लागि कार्यक्रम गर्नु पर्ने औंल्याउँदै त्यसतर्फ प्रदेश सरकार अगाडि बढेको बताए । शिक्षामा सबैको पहुँच पुग्ने गरी वातावरण बनाउने कार्यमा सबैको साथ सहयोग आवश्यक रहेको उनको भनाइ थियो ।

पुस्तक प्रदर्शनीलाई व्यावसायिकतासँग मात्रै जोडेर हेर्नुभन्दा समग्रतासँग जोडेर हेर्नुपर्ने मुख्यमन्त्री शाहको जोड थियो । उनले पुस्तक प्रदर्शनीलाई ज्ञान प्राप्ति गर्ने उपलब्धिसँग पनि जोड्न आवश्यक रहेको उल्लेख गरे ।

समाज रुपान्तरणमा पुस्तकको भूमिका महत्त्वपूर्ण रहेको उनको भनाइ थियो । अहिले राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा नयाँ नयाँ प्रविधि अगाडि बढ्नुमा पुस्तकको महत्त्वपूर्ण देन रहेको उनले बताए । 

दिनदिनै पठन संस्कृतिको ह्रास भइरहेको प्रति चिन्ता व्यक्त गर्दै शिक्षाविद डा. हेमराज पन्तले मान्छेले पुस्तक पढ्न आवश्यक रहेको औंल्याए ।

उद्घाटन कार्यक्रममा सङ्घीय सांसद् डिल्लीराज पन्त, प्रदेश सभा सदस्यहरू गीता चौधरी, तारा जोशी, विभिन्न विद्यालयका विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । महोत्सव उद्घाटन अवसरमा शिक्षासहित विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिलाई सम्मान गरिएको छ ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीको आयोजनामा सुरु भएको पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव पुस १५ गतेसम्म सञ्चालन हुने छ ।

clock बुधबार १०, पुष २०८१ ०७:३२

प्रतिक्रिया