धनगढीमा आजदेखि शैक्षिक महोत्सव सुरु हुँदै, मुख्यमन्त्री शाहले उद्घाटन गर्ने

  मङ्गलबार ०९, पुष २०८१ ०७:२५

 

धनगढी । आजदेखि धनगढीमा हुने ‘नवौं वृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१’ को तयारी पुरा भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीको आयोजनामा हुने शैक्षिक महोत्सवको तयारी पुरा भएको हो । 

आयोजक नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीले हिजो धनगढीमा पत्रकार सम्मेलन गर्दै महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । महोत्सवको उद्घाटन सुदूररपश्चिम प्रदेशका मुख्यमन्त्री कमलवहादुर शाहले गर्ने आयोजकले जनाएको छ ।

महोत्सवमा सुदुरपश्चिम प्रदेशका साथै देश र विदेशमा रहेका प्रकाशक, स्टेशनरी वितरक, शैक्षिक संस्था, मसलन्द सामाग्री, शिक्षण संस्थाहरु र शिक्षासँग सम्वन्धित निकायहरुका गरी एक सय बढी स्टल रहेको संघका अध्यक्ष भीम पडालले जानकारी दिए । उनले महोत्सवमा विद्यालय स्तरीय नृत्य, कविता, वक्तृत्वकला र चित्रकला प्रतियोगिताहरु आयोजना बताए । उनले भने ‘त्यसमा आधारभूत र माध्यमिक तह गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ ।’

महोत्सवमा रमाइलो मेलाका साथै राष्ट्रिय कलाकारहरुको पनि प्रस्तुती रहने बताउँदै उनले सुदूरपश्चिमका परिकार सहितका खाना र खाजाका स्टल राखिएको बताए । शिक्षा र खेलकुदसँग सम्बन्धित विभिन्न विषयहरुमा बहस पनि सञ्चालन तथा त्यसमा मदन पुरस्कार विजेता साहित्यकारहरुका साथै विभिन्न क्षेत्रका ख्यातिप्राप्त व्यक्तित्वहरुको पनि सहभागीता रहने जनाइएको छ ।

महोत्सव पुस १५ गतेसम्म धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा हुनेछ । उद्घाटन अघि धनगढीको ट्राफिक चौराहदेखि महोत्सव स्थल पशुपति टोलसम्म प्रभातफेरीको आयोजना हुने जनाइएको छ । महोत्सवलाई दुई लाख दर्शकले अवलोकन गर्नुका साथै ५ करोड बढीको कारोवार हुने तथा महोत्सव आयोजन गर्नलाई झण्डै दुई करोड वढी खर्च हुने अनुमान गरिएको आयेजकले जनाएको छ ।

महोत्सव अवलोकनका लागि विद्यालय र क्याम्पसका विद्यार्थीहरु सामुहिक रुपमा पोशाकमा आएमा निशुल्क प्रवेश, अन्य विद्यार्थी स्वस्फुर्त रुपमा आएमा रु ५० टिकटदर राखिएको र सर्वसाधारणलाई रु १०० राखिएको छ । जेष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तीहरुलाई महोत्सवमा प्रवेश निशुल्कको व्यवस्था गरिएको जनाइएको छ । 

clock मङ्गलबार ०९, पुष २०८१ ०७:२५

प्रतिक्रिया