सुदूरपश्चिममा प्राविधिक विषयका विद्यार्थी ह्वात्तै घटे
धनगढी । सुदूरपश्चिममा प्राविधिक विषय पढ्ने विद्यार्थीको संख्या ह्वात्तै घटेको छ । प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद् (सिटिइभीटी) को डिप्लोमा तहको विभिन्न विषय पढ्ने विद्यार्थीको संख्या हरेक वर्ष ओरालो लागेको हो ।
शैक्षिक सत्र २०७९ मा सुदूरपश्चिममा ५४ कलेजमा ८० वटा कार्यक्रममा विद्यार्थी भर्ना भएकामा कलेजको सङ्ख्या २०८१ मा आएर ३५ मा झरेको छ । डिप्लोमा तहको विभिन्न कार्यक्रममा विद्यार्थी भर्ना हुने दर घटे सँगै धेरैजसो कलेज र कार्यक्रम विद्यार्थी अभावमा बन्द नै भएका छन् ।
स्वास्थ्य बाहेकका कार्यक्रममा विद्यार्थी अभाव
सिटिइभिटीको नर्सिङ, जनरल मेडिसिन र फार्मेसी बाहेकका कार्यक्रममा विद्यार्थी संख्या घटेको पाइएको छ । तीन शैक्षिकसत्रको तथ्यांकले सुदूरपश्चिमका विद्यार्थीहरूले प्राविधिक विषय पढ्ने रुचिमा परिवर्तन आएको देखाएको छ ।
तीन वर्षयता कृषि विज्ञान, भेटेरिनरी, मेडिकल ल्याबरोटरी टेक्नोलोजी, सिभिल इन्जिनियरिङ, रेडियोग्राफी र होटेल व्यवस्थापन जस्ता कार्यक्रममा भर्ना हुने विद्यार्थीको संख्या ओरालो लागेको छ । सिटिइभीटीको डिप्लोमा तह पास गरेको जनशक्ति बेरोजगार रहनाले केही कार्यक्रममा विद्यार्थी भर्ना दर घटेको सिटिइभिटी प्रादेशिक कार्यालय धनगढीका उपनिर्देशक देवसिंह धामीले बताए ।
उनले उत्पादित जनशक्तिले रोजगार नपाउँदा र स्वरोजगारसमेत नभएकाले विद्यार्थीको आकर्षण घटेको बताए । ‘प्राविधिक विषय पढेको जनशक्ति बेरोजगार भएको देखियो । शिक्षण संस्था पनि आवश्यकताभन्दा बढी भए कि भन्ने छ,’ उनले भने, ‘गाउँमा प्राविधिक विषय अध्ययन गरेको जनशक्ति स्वरोजगारसमेत बन्न नसक्दा केही कार्यक्रमहरूमा विद्यार्थी संख्या ओरालो लागेको छ ।’
यो वर्ष ६४ प्रतिशत विद्यार्थी मात्रै भर्ना
शैक्षिक सत्र २०७९ मा सिटिइभिटी अन्तर्गतका ५४ कलेजमा ८० वटा डिप्लोमा तहका प्राविधिक कार्यक्रम सञ्चालन गरिएका थिए। यी कलेजहरूमा तीन हजार ४९८ विद्यार्थी भर्ना हुने कोटा थियो तर दुई हजार ४७२ जना विद्यार्थी मात्रै भर्ना भएको तथ्यांक छ । जुन कुल कोटा संख्याको ७० प्रतिशत मात्रै हो । शैक्षिक सत्र २०७९ मा स्वीकृत कोटामा ३० प्रतिशत कम विद्यार्थी भर्ना हुन आएका हुन् ।
शैक्षिक सत्र २०८० मा ५४ शैक्षिक संस्थामा ८९ कार्यक्रममा तीन हजार ७२६ जना विद्यार्थी भर्ना हुने कोटा रहेकोमा दुई हजार ५९१ जना मात्रै भर्ना भएका छन् । यो वर्ष पनि ७० प्रतिशत विद्यार्थी मात्रै भर्ना भएको सिटिइभिटीको तथ्यांले देखाएको छ । यसैगरी, चालु शैक्षिक सत्रमा कलेजको संख्या ३५ मा झरेको छ भने ६२ वटा कार्यक्रममा दुई हजार ७१६ विद्यार्थी भर्नाको कोटा निर्धारण गरिएको थियो । यो वर्ष जम्मा एक हजार ७३७ जना विद्यार्थी मात्रै डिप्लोमा तहको विभिन्न कार्यक्रममा भर्ना भएका छन् । जुन निर्धारित कोटाको ६४ प्रतिशत मात्रै हो ।
स्वास्थ्य बाहेकका कार्यक्रमहरूमा विद्यार्थी भर्ना दर ह्वात्तै घटेको उपनिर्देशक धामीले बताए । उनले जनरल मेडिसिन, नर्सिङ र फार्मेसी बाहेकका स्वास्थ्यका कार्यक्रममा समेत विद्यार्थी भर्ना नआएको बताए । ‘स्वास्थ्यतर्फको जनरल मेडिसिन, फार्मेसी नर्सिङ कार्यक्रममा मात्रै निर्धारित कोटा अनुसार विद्यार्थी भर्ना भएका छन् । स्वास्थ्यतर्फकै ल्याब,रेडियोग्राफी र जनरल आयुर्वेदिक मेडिसिनमा भर्ना हुन आउने विद्यार्थीको सङ्ख्या निकै कम छ,’ उनले भने, ‘कृषि र भेटेरिनरी पढ्न आउनेको सङ्ख्या निकै कम भएको छ ।’
विदेश मोहको असर डिप्लोमा तहमा
डिप्लोमा तहको विभिन्न कार्यक्रम सञ्चालनको स्वीकृति पाएका केही कलेज विद्यार्थी अभावमा बन्द भएका छन् भने सिभिल इन्जिनियङ, होटल व्यवस्थापन, इलेक्ट्रिकल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, वन विज्ञान र जियोम्याटिक्स इन्जिनियरिङमा भर्ना हुने विद्यार्थीको संख्या हरेक वर्ष घट्दो क्रममा छ ।
अभिभावक र विद्यार्थीहरूमा कक्षा १२ पास गरेर विदेश जानुपर्छ भन्ने मान्यता बलियो भएकाले डिप्लोमा तहमा प्राविधिक विषय पढ्नेको संख्या घट्दो क्रममा रहेको सिटिइभिटी प्रादेशिक कार्यालय धनगढीका उपनिर्देशक धामीको भनाइ छ । उनले तीन वर्ष पढ्नु भन्दा दुई वर्ष सजिलै पढेर त्यसपछि विदेश जाने भन्ने योजनाको असर प्राविधिक शिक्षा अध्ययनमा परेको बताए ।
‘डिप्लोमा तहमा प्राविधिक धार अध्ययन गरेका जनशक्ति बेरोजगार रहनु, शैक्षिक संस्था आवश्यकता भन्दा बढी खुल्नु र अभिभावक र विद्यार्थीमा कक्षा १२ पछि विदेश जाने मोह बढ्नुले सिटिइभिटीका कार्यक्रम प्रभावित भएको अनुमान हामीले गरेका छौ,’ उनले भने, ‘अहिलेको अवस्थाले हामीलाई चिन्तित बनाएको छ ।’
प्रतिक्रिया