मुख्यमन्त्रीद्वारा डा. उपाध्यायलाई राजनीतिक सल्लाहकार नियुक्त
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले डा. जितु उपाध्यायलाई आफ्नो राजनीतिक सल्लाहकार नियुक्त गर्नुभएको छ ।
पुस महिनादेखि लागु हुने गरी उहाँले युवा वैज्ञानिक उपाध्यायलाई आफ्नो राजनीतिक सल्लाहकार नियुक्त गर्नुभएको हो । मुख्यमन्त्री शाहको राजनीतिक सल्लाहकार बन्नुभएका उपाध्याय कैलालीको टीकापुर नगरपालिका–१ का बासिन्दा हुनुहुन्छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको सल्लाहकार नियुक्ति तथा सेवा र सुविधासम्बन्धी कार्यविधि २०८१ को दफा ३, उपदफा १ (क) बमोजिम डा। उपाध्यायलाई राजनीतिक सल्लाहकार नियुक्त गरिएको मुख्यमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।
सोही कार्यविधिको दफा ९ एवं अनुसूची २ बमोजिम उपाध्यायको पारिश्रमिक र सुविधा हुने जनाइएको छ । मुख्यमन्त्रीको सल्लाहकारमा नियुक्त हुनुभएका उपाध्याय क्यानडाको म्याकगिल विश्वविद्यालयमा अध्यापनको काम गर्दै आउनुभएको थियो ।
प्रतिक्रिया