सुदूरपश्चिममा १३ उम्मेदवारको जमानत जफत

  मङ्गलबार १८, मङि्सर २०८१ ०७:३५

धनगढी । सुदूरपश्चिममा उपनिर्वाचन लडेका १३ जना उम्मेदवारको जमानत जफत भएको छ । पाँच स्थानमा उपनिर्वाचन भएकोमा २६ जना उम्मेदवार रहेका थिए । आधा उम्मेदवारले जमानत जोगाउन नसकेका हुन् । 

नेकपा माओवादी केन्द्रले चार स्थानमा उम्मेदवार खडा गरेकोमा तीन जनाको जमानत जफत भएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले दुई स्थानमा उम्मेदवार उठाएकोमा दुबै उम्मेदवारले जमानत जोगाउन सकेनन् । डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा अध्यक्षकी उम्मेदवार बनेकी रास्वपाकी जानकी कुमारी खड्का कुँवरले ३१ मत मात्रै ल्याउन सकिन् । उनको जमानत जफत भएको छ ।

पूर्वीचौकी गाउँपालिका–६ मा माओवादी केन्द्रका देवीलाल थापाले २६ मत मात्रै ल्याए । उनले पनि जमानत बचाउन सकेनन् । बझाङको सुर्मा गाउँपालिका–४ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार पुष्करबहादुर बोहराको जमानत जफत भएको छ । बोहराले १७ मत मात्रै ल्याए । दार्चुलाको दुहुँ गाउँपालिका–५ मा स्वतन्त्र उम्मेदवार लालबहादुर कुँवरको जमानत जफत भएको छ । उनले २५ मत मात्रै ल्याएका थिए । 

सबैभन्दा बढी कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा नौं जना उम्मेदवारको जमानत जफत भएको छ । नेकपा एकीकृत समाजवादीका जितेन्द्रबहादुर चन्द, राष्ट्रिय स्वतन्त्र पार्टीका रामदत्त भट्ट, स्वतन्त्र थानेश्वर लेखक, नागरिक उन्मुक्ति पार्टीका हरिश डगौरा, नेकपा माओवादी केन्द्रका नानाराम कोली, स्वतन्त्र युवराज चन्द, राप्रपा नेपालका दिलबहादुर धामी, नेमकिपाका दलबहादुर बोहरा र जनमत पार्टीका यादवबहादुर चन्दले जमानत जोगाउन नसकेका हुन् । जमानत फिर्ता पाउन सदर मतको १० प्रतिशत मत कटाउनु पर्छ । 

clock मङ्गलबार १८, मङि्सर २०८१ ०७:३५

प्रतिक्रिया